– अनन्त्य सुन्दर

काठमाण्डौ। नेपालको सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ। 

स्वदेशमा मात्र नभएर विदेशमा रोजगारी, अध्ययन साथै अन्य सिलसिलाका लागि पलायन भएका नेपालीले पनि नेपालको सेयर बजारमा लगानी सुरु गरेको पाइन्छ। अहिले नेपालको सेयर बजारमा जापान, कोरिया, यूएईजस्ता मुलुक रहेका अधिकांश नेपालीले लगानी गर्दै आएका छन्।

कोभिड कहरका कारण अनलाइन कारोबारको प्रोत्साहन, टीएमएसमा सुधार साथै डिम्याट, ब्रोकर एकाउन्ट अनलाइनबाट नै खोल्न मिल्ने भएकाले पनि नेपालबाहिर रहेका धेरैजसो नागरिकलाई नेपालको सेयर बजारको ढोका खुलेको हो। 

ओखलढुंगाका खिलक बुढाथोकी करिब ३ वर्षदेखि नर्वेमा बस्दै आएका छन्। बुढाथोकीले सेयर बजारमा लगानी सुरु गरेको झन्डै ५ वर्ष भएको बताउँछन्। बुढाथोकी भन्छन्, ‘साथीले गर्दा सेयर बजारमा लगानी सुरु गरे। विदेशबाट बजारमा लगानी गर्न कठिन हुने हो कि ? भन्ने डर थियो। तर अनलाइन प्रणालीले गर्दा धेरै नै सहज भएको छ।’ 

विदेश साथै स्वदेशका साथीहरुसँग मिलेर सामूहिक लगानी गर्ने बुढाथोकी राम्रा कम्पनी छनौट गरी दीर्घकालीन लगानी गर्नुका साथै ट्रेन्ड हेरेर ट्रेडिङ पनि गर्ने गरेको बताउँछन्। ‘नियामक निकाय सेबोन, नेप्सेका साथै बीमा समितिलगायत अन्य निकायले समय–समयमा अनावश्यक विज्ञप्ति निकाल्छन्। जसले गर्दा बजारमा उतारचढाव हुने गरेको पाइन्छ। त्यस्तो बेलामा विदेशमा पसिना बगाएर गरेको लगानी डुब्छ कि? भन्ने डर पनि हुन्छ। त्यसैले नियामकले यस्तो कार्य बन्द गरेर बजार सुधारका लागि ध्यान दिनुपर्छ।’

बैतडीका वसन्तबहादुर बोहरा करिब ३ वर्षदेखि यूएईमा बस्दै आएका छन्। बोहराले विगत १ वर्षदेखि सेयर बजारमा लगानी गर्दै आएका छन्। बोहरा भन्छन्, ‘अध्ययन साथै आफ्नो स्व–विवेक प्रयोग गरी सेयर बजारमा लगानी गर्दा राम्रो मुनाफा कमाउन सकिन्छ भन्ने बुझेँ, त्यसैले बजारमा लगानी सुरु गरेँ।’ 

आफूले कमाएको पैसा सही ठाउँमा सही व्यवस्थापन गर्न सके राम्रो आम्दानी कमाउन सकिने बोहरा बताउँछन्। बोहरा भन्छन्, ‘विदेशबाट लगानी गर्न त्यति सहज छैन, ब्रोकरले समयमा पैसा नहाल्दिने, फोन नउठाउने, समयमा सेयर नपठाउनेजस्ता समस्याहरु भोग्दै आउनुपरेको छ। नियामक निकायहरुले यसको नियमन गरे लगानी गर्न धेरै सहज हुन्थ्यो।’

विदेशबाट नेपाली सेयर बजारमा लगानी गर्ने अन्य लगानीकर्ताहरुलाई सामाजिक सञ्जालमा हल्लाको पछि नलागी आफैँले अध्ययन गर्नुका साथै आफ्नो स्वविवेक प्रयोग गरी लगानी गर्न उनको सुझाव छ। 

सिन्धुपाल्चोकका दावा रिन्जिन लामा करिब ८ वर्षदेखि दक्षिण कोरियामा बस्दै आएका छन्। लामा करिब १ वर्षदेखि सेयर बजारमा लगानी गर्दै आएका छन्। लामा भन्छन्, ‘सेयर बजारमा लगानी गर्ने पहिला पनि सोचेको थिए। तर त्यस बेला विदेशबाट डिम्याट, ब्रोकर अकाउन्ट खोल्न सहज थिएन। नेप्सेमा अनलाइन प्रणाली सुरु भए लगत्तै बजार प्रवेश गरेँ।’ 

‘विदेशबाट घरमा बसीबसी लगानी गरेकोजस्तो सहज हुँदैन। आफ्नो ड्युटी पनि गर्नुपर्ने हुन्छ’, लामाले भने, ‘त्यसैले आफ्नो पोर्टफोलियोको २० प्रतिशत ट्रेडिङ र बाँकी ८० प्रतिशत राम्रा कम्पनीहरुमा दीर्घकालीन लगानी गर्छु। युद्धमा लडाइँ गर्न हातहतियार तयार गरेर जानुपर्छ, सेयर बजारमा पनि राम्रोसँग बुझेरमात्र लगानी गर्नुपर्छ।’

सुरुका दिनहरुमा बजारमा लगानी गर्न डर लागेको अनुभव सुनाउँदै लामाले भने, ‘तर अहिले अध्ययन र अनुभवले गर्दा आत्मविश्वास बढ्नुका साथै जोखिम लिने क्षमता पनि बढेको छ।’ ब्रोकरले समयमा सेटलमेन्ट गरे लगानी गर्न थप सहज हुने उनको भनाइ छ। 

मकवानपुरका अनुपकुमार श्रेष्ठ करिब २ वर्षदेखि जापान बस्दै आएका छन्। श्रेष्ठले सेयर बजारमा लगानी गरेको पनि झन्डै दुई वर्ष भयो। ‘समय पनि कम दिनुपर्ने, साथै अध्ययन गरेर राम्रा कम्पनीहरुमा लगानी गर्दा राम्रो प्रतिफल आउने भएकाले सेयर बजार लगानीका लागि सबैभन्दा राम्रो क्षेत्र हो’, उनले भने, ‘अहिले नेपाली सेयर बजारमा अनलाइनले गर्दा सेयर बजारमा लगानी गर्न सहज भएको छ। विगतमा विदेशबाट नेपाली सेयर बजारमा प्रवेश गर्न सहज थिएन।’

विदेशमा आफूले पसिना बगाएर कमाएको पैसा जोखिम कम भएको लगानी गर्ने ठाउँ नै सेयर बजार भएको श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘सेयर बजारमा अनुशासित र धैर्यताका साथ लगानी गर्दा राम्रो आम्दानी गर्न सकिन्छ।’