काठमाण्डौ। कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण रोकथामका लागि साउथ अस्ट्रेलियाले विदेशबाट फर्किने आफ्ना नागरिकलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने नयाँ नियम लागू गरेको छ। 

नयाँ भेरियन्टको त्राससँगै अस्ट्रेलियाले आफ्ना नागरिकबाहेकलाई अस्ट्रेलिया प्रवेश गर्न रोक लगाइसकेको छ। सोही निर्णयको परिपालन गर्दै साउथ अस्ट्रेलियाले विदेशबाट फर्किने आफ्ना नागरिकका लागि अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको हो। 

त्यहाँको सरकारी वेबसाइटमा जनाएअनुसार जुनसुकै देशबाट फर्किने आफ्ना नागरिकलाई अनिवार्य रुपमा होटेल क्वारेन्टिन बस्नुपर्नेछ। होटेलमा परिचालित स्वास्थ्यकर्मीको टोलीले त्यसरी क्वारेन्टिनमा बसेकाहरुको दैनिक स्वास्थ्य परीक्षण गर्नुपर्ने छ। 

साउथ अस्ट्रेलियाले यस्तो प्रतिबन्ध छिमेकी राज्य साउथ वेल्समा नयाँ भेरिएन्टका ५ मामिला भेटिएसँगै लगाएको हो। यस्तो प्रतिबन्ध ८ साउथ अफ्रिकी मुलुकहरुबाट फर्किने नागरिकहरुका लागि समेत लगाइएको छ।

यसैबीच जापानमा नयाँ भेरिएन्टका २ वटा केस भेटिएका छन्। जापानमा नयाँ भेरिएन्ट पेरुबाट आउने एक २० वर्षे नागरिकमा शनिबार  देखिएको हो। पेरुमा भने यस्तो भेरिएन्ट देखिएको छैन। गत बिहीबारबाटै जापान सरकारले १० अफ्रिकी देशबाट हुने यात्रा प्रतिबन्ध गरिसकेको छ। 

त्यसैगरी दक्षिण अफ्रिकी देश जिम्बावेले पनि नयाँ प्रतिबन्धसँगै सबै विदेशीहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने र स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ। – एजेन्सी