काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। 

संस्थाले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई यही माघ २२ गतेदेखि र सर्वसाधारणलाई आउँदा फागुन १८ गतेदेखि आइपीओ बिक्री गर्ने भएको हो। संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्न लागेको हो। 

संस्थाले १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ जारी गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ। 

संस्थाले जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने १ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी ८० हजार ९५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। 

यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आउँदो फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। सर्वसाधारणका लागि जारी हुने आईपीओको निष्कासन बन्द भने छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गते बैंकिङ समयपछि हुनेछ। 

दुवै थरीका लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बार्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्छन्। 

बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।