काठमाण्डौ । विदेशमा रहेका नेपाली श्रमिकले सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ १८ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। 

यसैगरी आयोजना प्रभावित स्थानीयका लागि भने आवेदन दिन म्याद थपिएको छ। मागबमोजिम आवेदन नपरेपछि अब स्थानीयले यो आईपीओमा फागुन ४ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको सानिमा क्यापिटलले जनाएको छ। यसअघि स्थानीयका लागि निष्कासित आईपीओमा आज माघ १८ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो।

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ३३ लाख ३२ हजार ५०० कित्ता आईपीओ स्थानीय आयोजना प्रभावित बिक्री खुला गरेको छ। जसमा आयोजनाबाट अतिप्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फत्ताङलुङ गाउँपालिका वडा नं. १ तथा मिवाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने नेपाली नागरिकलाई ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका बासिन्दाहरुका लागि ६० प्रतिशतले हुन आउने १९ लाख ९९ हजार ५०० कित्ता आईपीओ जारी गरिएको छ। 

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको जारी पुँजीको १५ प्रतिशतले हुन आउने ४९ लाख ९८ हजार ७५० कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता बिक्री खुला गरेको छ। 

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

स्थानीयले ताप्लेजुङको फुङलिङस्थित सानिमा बैंक तथा लक्ष्मी बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्।