काठमाण्डौ । विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालमा शाखा खोल्न सहज नीति ल्याइएको छ।

नेपाल राष्ट्र बैंकले यसअघिको ‘पोलिसी प्रोभिजन फर ओपनिङ अफिस बाई फरेन बैंक अर फाइनान्सियल इन्स्टिच्युसन्स इन नेपाल, २०२०’ खारेज ‘फरेन बैंक ब्रान्च लाइसेनिङ पोलिसी, २०२२’ जारी गर्दै विदेशी बैंक तथा वित्तीय संस्थाहरलाई नेपालमा शाखा खोल्न सहज नीति ल्याएको हो। नयाँ नीतिमा राष्ट्र बैंकले नेपालमा शाखा खोल्न चाहने विदेशी बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको सीमा घटाएको छ।

नयाँ नीतिअनुसार नेपालमा शाखा कार्यालय खोल्न चाहने विदेशी बैंक तथा वित्तीय संस्थाहरुले अब २ करोड अमेरिकी डलर वा सोसरहको चुक्तापुँजी भए पुग्नेछ । जुन साढे २ अर्ब रुपैयाँको हाराहारीमा हुन आउँछ। 

यसअघि राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाहरुले नेपालमा शाखा खोल्न चाहेमा कम्तीमा ८ अर्ब रुपैयाँ चुक्तापुँजी हुनुपर्ने व्यवस्था गरेको थियो। अहिले नेपालका वाणिज्य बैंकहरुको चुक्तापुँजी कम्तीमा ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ। 

नेपालमा शाखा खोल्न चाहने कुनै पनि विदेशी बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको अनुमति लिनुपर्नेछ। यसका लागि उनीहरुले आवश्यक सम्पूर्ण कागजपत्र राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ। 

राष्ट्र बैंकले ती कागजपत्र अध्ययन गरेपछि उचित देखिएमा मात्रै त्यस्ता विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालमा शाखा खोल्न अनुमति दिनेछ।