काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी इष्टमित्र र ग्राहकबाट उपहारमा प्राप्त रकम अधिकतम ५०० अमेरिकी डलरसम्म मात्रै सटही गर्न पाइने भएको छ। 

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन, परिमार्जन र थप गर्दै यस्तो व्यवस्था गरेको हो। योसँगै अब विदेशी इष्टमित्र र ग्राहकबाट उपहार वा टिप्सबाट प्राप्त हुने रकम अधिकतम ५०० डलरसम्म मात्र सटही गर्न पाइने भएको छ। यसअघि यो व्यवस्था थिएन। 

यसैगरी नेपाली नागरिकसँग ५ हजार डलर वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्रा(भन्सार घोषणाको प्रमाणित कागजात भएको, त्यस्तो कागजातमा उल्लिखित सम्पूर्ण रकम) को खरिद कारोबार गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले परिपत्रमा संशोधनमार्फत गरेको छ। 

यस्तै नेपाली विश्वविद्यालयले लिने सेवाको हकमा विदेशी प्राकृति व्यक्ति (शोधकर्ता वा प्राध्यापन पेसाकर्मी)लाई समेत भुक्तानी गर्न सकिने र त्यस्तो भुक्तानीको सीमा वार्षिक ५० हजार डलर हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यो व्यवस्था पनि यसअघि थिएन। 

यसअघि राष्ट्र बैंकले आफ्नो तथा आफ्नो सिस्टर कन्सर्नका लागि विदेशी संस्थाबाट लिने विविध सेवा, अदृश्य आयात लिए वा गरेको पुष्टि हुने कागजात वा बिलबिजकका आधारमा मासिक रुपमा बढीमा १५ हजार डलर वा सोबराबरको हुने रकम सम्बन्धित पक्षलाई भुक्तानी गर्न सकिने व्यवस्था गरेको थियो। यो व्यवस्था हाल पनि कायमै राखिएको छ।