काठमाण्डौ । पछिल्लो समय घुमफिरमा सौख राख्ने नेपालीहरुको संख्या बढ्दै गएको छ । आन्तरिक पर्यटकीय क्षेत्रदेखि विभिन्न अन्य देशमा घुम्न जानेहरु प्रशस्तै छन् ।

विशेषगरी लामो छुट्टीका बेला र नवविवाहित जोडी घुम्नका लागि विदेश जाने गरेका छन् । यस्ता घुमफिरले देशविदेशको परिवेशबारे परिचित बन्न पनि निकै सघाउँछ । तर घुमफिरमा खर्च पनि धेरै लाग्छ। अझ भनौँ घुमफिरका लागि अन्य देशमा जाँदा धेरै खर्च लाग्छ।

विना योजना विदेशमा घुमफिर गर्न जाँदा आर्थिक भार पर्न सक्छ । त्यसैले विदेशमा घुमफिर गर्ने चाहना पूरा गर्न वित्तीय योजना बनाउनु जरुरी हुन्छ । राम्रो वित्तीय योजनाले नै तपाइँको विदेशको घुमफिर गर्ने योजना सफल र सुखदायी हुन्छ ।

आफ्नो विदेश घुमफिर गर्ने योजना कसरी सफल र सुखदायी बनाउने ? आउनुहोस् यससँग जोडिएका केही वित्तीय योजनाहरुबारे संक्षिप्तमा चर्चा गरौँ–

बजेट बनाउनुहोस्

राम्रो बजेट योजनाले सबै वित्तीय लक्ष्य प्राप्त गर्न सहज र सफल हुन सकिन्छ । त्यसैले विदेश घुम्न जाँदै हुनुहुन्छ भने पहिले बजेट योजना बनाउनुहोस् । अनुमानित लागत निकाल्नुहोस् । आफू जाने ठाउँमा बारेमा जानकारी प्राप्त गर्नुहोस र त्यहाँ गरिने खर्चको सूची तयार पार्नुहोस् । यदि तपाइँ जागिरे हुनुहुन्छ भने मासिक आफ्नो घरासयीलगायतका सबै खर्च कटाएर बच्ने रकमले विदेश घुम्न जाँदा लाग्ने अनुमानित खर्चलाई भाग गर्नुहोस् । यसले विदेश घुम्न जाने तपाइँको लक्ष्य पूरा गर्न हरेक महिना कति बचत गर्नुपर्छ र कति समय लाग्छ भन्ने कुरा प्रस्ट हुन्छ ।

बचत रकम लगानी गर्नुहोस्

अब तपाइँले आफ्नो विदेश घुम्न जाने लक्ष्य पूरा गर्न मासिक बचत गरिरहनुभएको रकम आम्दानी हुने ठाउँमा पनि लगाउनुहोस् । यसले तपाइँको बचतसँगै आम्दानी पनि हुन्छ र तपाइँको लक्ष्यभन्दा अगाडि नै विदेश घुम्न जाने योजना पनि पूरा हुन्छ ।

अतिरिक्त आम्दानी प्रयोग गर्नुहोस्

यदि तपाइँ कुनै कम्पनीमा काम गर्नुहुन्छ । त्यहाँबाट तपाइँलाई बोनस, अलाउन्सजस्ता अतिरिक्त रकम पनि प्राप्त हुन्छ भने त्यसलाई प्रयोग गरे तपाइँ आफ्नो विदेश घुम्न जाने योजना पनि सफल पार्न सक्नुहुन्छ । अझै तपाइँले नियमित कामबाहेक थप ५÷६ घन्टा पार्टटाइम जब गर्नुहुन्छ भने पनि त्यो तपाइँको अतिरिक्त आम्दानी हुन आउँछ । यसले पनि तपाइँको विदेश घुम्न जाने लक्ष्यलाई छिटो पूरा गर्न सघाउ पुर्याउन सक्छ । त्यस्तै तपाइँको जन्म दिन वा विवाह वर्षगाँठमा सगुनका रुपमा प्राप्त हुने अतिरिक्त रकमले पनि तपाइँको विदेश यात्रालाई सफल पार्न सक्छ ।

टिकट बुकिङ छिटो गर्नुहोस्

तपाइँको विदेश घुम्न जाने लक्ष्य छ र त्यहीअनुसार बजेट पनि तयार पारिरहनुभएको छ भने पहिले आफू जान चाहेको देश निर्धारण गर्नुहोस् । जानुभन्दा दुई/तीन महिनाअघि नै टिकट बुक गरिहाल्नुहोस्। किनकि छिटो टिकट बुक् तपाइँलाई छुट प्राप्त हुन्छ र तपाइँको वित्तीय योजना सफल हुन्छ । 

ट्राभल लोन लिनुहोस्

यदि तपाइँ विदेश घुम्न जानका लागि पैसाको जोरजाम गर्न सक्नुभएन भने कुनै बैंक तथा वित्तीय संस्थाबाट ट्राभल लोन लिनुहोस् । तर यस्तो लोन लिनुअघि पछि तिर्ने योजनालाई पनि राम्रो बनाउनुहोस् । कतिपय बैंक तथा वित्तीय संस्थाले ट्राभल लोनभन्दा पनि पर्सनल लोनका रुपमा ऋण उपलब्ध गराउँछन् । यसमा उनीहरुले तपाइँको आम्दानीको हिसाबले ऋण प्रवाह गर्छन् । –एजेन्सी