काठमाण्डौ । अब विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न पाइने भएको छ। 

नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली, २०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था मिलाएको हो। यसका साथै घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकले आफ्नो घरको कम्पाउन्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने व्यवस्था पनि गरिएको छ। 

विनियमावलीमार्फत प्राधिकरणले विद्युतीय सवारीसाधनका लागि चार्जिङ पूर्वाधार निर्माण तथा सञ्चालनका नीति पनि कार्यान्वयनमा ल्याएको छ। निजी आवास, कार्यालय, फर्म/कम्पनी/संस्थामा निजी र सार्वजनिक स्थल, निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृत प्राप्त निकाय/फर्म/व्यक्ति/कम्पनीलाई अनुमति दिइनेछ। मुख्य सहरी क्षेत्रमा सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्ने संस्थाहरुलाई प्राथमिकता दिइने व्यवस्था विनियमावलीमार्फत गरिएको छ। 

यसैगरी नेपाल सरकार, सार्वजनिक संस्थान र स्थानीय तहले सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्न चाहेमा प्राथमिकता दिइनेछ।

सरकारबाट स्वीकृत लिएर सार्वजनिक जग्गामा सार्वजनिक विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गर्न चाहेमा पनि स्वीकृति दिने व्यवस्था प्राधिकरणले गरेको छ। 

चार्जिङ स्टेसनका लागि छुट्टै विद्युत महसुल व्यवस्था गरिएको छ।