काठमाण्डौ । कार निर्माता कम्पनी भोल्सवागेनले टेस्लाले भन्दा बढी विद्युतीय कार बिक्री गर्ने योजना बनाएको भन्ने कुरा वर्षौंदेखि भन्दै आएको छ। 

ब्लुमबर्ग इन्टिलिजेन्सको रिपार्टका अनुसार भोल्सवागेनको यो योजना अन्ततः पूरा हुने भएको छ। ब्लुमबर्गको विश्लेषणका अनुसार अबको केही वर्षमा अन्य अटो निर्माताहरुलाई पछि पार्दै यी दुवै कम्पनीहरुबीच विश्वको अग्रेणी विद्युतीय कार बिक्रीकर्ता बन्न तीव्र प्रतिस्पर्धा हुनेछ। 

भोल्सवागेनदेखि बेन्टलीसम्मको मूल्य र प्रतिष्ठामा आफ्नो नियन्त्रणमा रहेका विभिन्न १० वटा ब्रान्डसँगै भोल्सवागेन समूहले विश्वभर ओडी ई–ट्रोन मोडल, भोल्सवागेन आईडीथ्री, कम्प्याक्ट कार र आईडीफोर एसयूभी र हाई पफर्मेन्स पोरचे टेकान मोडलका कारहरु बिक्री गर्ने जनाइएको छ। 

भोल्सवागेनले आगामी वर्षहरुमा थप मोडलहरु थप्ने अनुमान गरिएको छ। टेस्लासँग सीमित मोडलहरु भएका कारण मूल्य र अफरिङका आधारमा कम्पनी भोल्सवागेनभन्दा पछि पर्ने जनाइएको छ। 

विश्वको अग्रणी विद्युतीय सवारी नेतृत्वकर्ता निर्धारण गर्न विशष्ो गरेर चिनियाँ र युरोपेली बजार निर्णायक हुनेछन्। यी दुवै बजारका नीतिनियमहरु विद्युतीय सवारीलाई समर्थन गर्ने खालका छन्। चीनमा सन् २०२५ सम्म विद्युतीय सवारी साधनहरुले कुल कार बिक्रीको २५ प्रतिशत हिस्सा ओगट्ने विश्वास गरिएको छ। युरोपमा यो आँकडा २० प्रतिशत रहने रिपार्टमा उल्लेख गरिएको छ। 

जर्मनीमा हेडक्वाटर रहेको भोल्सवागेनको युरोपभर कारखानाहरु छन्। युरोपमा विद्युतीय सवारी बिक्रीका आधारमा भोल्सवागेनले टेस्लालाई पछि पारिसकेको छ। 

चीनमा भने कम्पनी टेस्लाभन्दा पछि छ। गत वर्ष चिनियाँ बजारमा विद्युतीय सवारी बिक्रीमा भोल्सवागेनको हिस्सा जम्मा ३.५ प्रतिशत थियो। यस्तै टेस्लाको हिस्सा भने १३ प्रतिशत थियो। 

चीनमा विद्युतीय सवारी बिक्रीमा गत वर्ष टेस्ला चिनियाँ कम्पनी वुलिङभन्दा पछि परेको थियो भने अर्को चिनियाँ कम्पनी बीवाईडीसँग समान अवस्थामा रहेको थियो। चीनमा विद्युतीय सवारी बिक्रीको बाँकी ५५ प्रतिशत मुख्यतः साना चिनियाँ अटो निर्माताहरुबाट आउने गर्छ। 

चीनमा अहिले विद्युतीय सवारीसाधनको बिक्रीले कुल कार बिक्रीको जम्मा ११ प्रतिशत हिस्सामात्रै ओगटेको छ। तर, विद्युतीय सवारीसाधन बिक्री नगर्ने निर्माताहरुलाई लागत खर्चमा व्यापक वृद्धि गर्ने नीतिनियमका कारण यो प्रतिशत तीव्र रुपमा वृद्धि हुने अनुुमान गरिएको छ। 

टेस्लाले चीनमा स्थानीय रुपमा जम्मा दुई मोडल ‘मोडलथ्री सेडान र मोडल वाई एसयूभी’ मात्रै निर्माण गर्दै आएको छ। यसले कम्पनीलाई स्थानीय निर्माताहरुको बढ्दो आकर्षक प्रडक्टहरु र भोल्सवागेनको तुलनामा कमजोर बनाएको छ। 

यस्तै टेस्लाले सांघाईमा रहेको कारखानाबाट उत्पादन हुने कारहरु स्थानीय बजारमा भन्दा पनि निर्यातका लागि बढावा दिइने जनाएको छ। 

ब्लुमबर्ग इन्टिलिजेन्सले यसअघि भोल्सवागेनले विश्वव्यापी विद्युतीय सवारी बिक्रीमा टेस्लालाई सन् २०२३ सम्म उछिन्ने जनाएको थियो। –एजेन्सी