काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ठूलो संख्यामा खुला प्रतिस्पर्धाबाट कर्मचारी आपूर्ति गर्ने भएको छ । 

प्राधिकरणले सहायक स्तरका कर्मचारीदेखि १० औँ तहसम्मका लागि एकैपटक ६५५ जना कर्मचारी माग गरेको हो । यी पदमा प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । 

प्राधिकरणले सहायक स्तरतर्फ सबैभन्दा धेरै इलेक्ट्रिसियन (तह ३) पदका लागि १३४ जनाको दरखास्त आह्वान गरेको हो । 

त्यस्तै प्राधिकरणले सहायक स्तरतर्फ नै मिटररिडिङ सुपरभाइजर पद (तह ५) का लागि ४२, लेखापाल (तह ५) का लागि ३६, सुपरभाइजर (तह ५– इलेक्ट्रिकल) का लागि ६४, सुपरभाइजर (तह ५– मेकानिकल) का लागि १२, सुपरभाइजर (तह ५– सिभिल) कालागि ९, सिनियर मिटर रिडर (तह ४) का लागि ६७, सहायक लेखापाल (तह ४) का लागि ५२, फोरमेन (तह ४– इलेक्ट्रिकल) का लागि १०८, फोरमेन (तह ४– मेकानिकल) का लागि ७, फोरमेन (तह ४– सिभिल) कालागि ४, जुनियर मिस्त्री (तह ३) का लागि ७ र जुनियर टेक्निसियन (तह ३) का लागि २ जना माग गरेको छ ।  

यसैगरी प्राधिकरणले प्राविधिकतर्फ इलेक्ट्रिकल र सिभिलतर्फ १० तहका एक÷एकजना प्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ। नवौँ तहको उपनिर्देशक पदका लागि प्रशासन र लेखा समूहतर्फ एक/एकजना, सिनियर चार्टर्ड एकाउन्टेन्ट एकजना र उपप्रबन्धक (इलेक्ट्रिकल) २ जना माग गरेको छ । आठौँ तहका सहायक निर्देशक र सहायक प्रबन्धक गरी प्रशासन, लेखा र इलेक्ट्रिकलतर्फ पनि एक/एकजनाको दरखास्त आह्वान गरिएको छ । 

यसैगरी सातौँ तहतर्फ प्रशासकीय अधिकृत ९, लेखा अधिकृत ११, तथ्यांकशास्त्री १, इन्जिनियर (इलेक्ट्रिकल) २५, इन्जिनियर (इलेक्ट्रोनिक्स १, इन्जिनियर (सिभिल), २९, सर्भे अधिकृत (सिभिल) ६, इन्जिनियर (कम्प्युटर इनिजनियरिङ) ६ र जियोलजिस्ट ५ जना पदपूर्तिका लागि विज्ञापन खुलाइएको छ । 

प्राधिकरणले तह ३ का लागि कम्तीमा सम्बन्धि विषयहरुमा एसएलसी/एसईई, तह ४ र ५ का लागि प्रमाणपत्र तह तथा तह ७ का लागि कम्तीमा स्नातक तहको अध्ययन पूरा गरेको हुनुपर्ने प्रावधान तोकेको छ भने तह ७ कै प्रशासन, लेखापाल, तथ्यांकशास्त्री र जियोलजिस्ट पदका लागि भने स्नातकोत्तर तहको अध्ययन पूरा गरेको हुनुपर्ने प्रावधान राखेको छ । 

तह ८ देखि १० सम्मका पदका लागि भने उम्मेदवाहरुले कम्तीमा सम्बन्धित विषयमा स्नातकोत्तर तहको पढाइ पूरा गरी नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा पाँच वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्ने छ । 

आवेदकको उमेर तह ७ का लागि २१ वर्ष भई ३५ वर्ष ननाघेको तर महिला तथा अपांग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । त्यस्तै तह ८ वा सोभन्दा माथिको पदका लागि ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ भने सहायक स्तर तह ३, ४ र ५ का लागि १८ वर्ष पूरा नभई ३५ वर्ष ननाघेको तर महिला तथा अपांगको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । 

आवेदकहरुले दरखास्त फाराम नेपाल विद्युत प्राधिकरणको वेबसाइट www.nea.org.np बाट डाउन लोड भर्न सक्ने छन् भने अधिकस्तर सबै र काठमाडौँ क्षेत्रका सहायकस्तका पदको दरखास्त फाराम प्राधिकरणको तालिम केन्द्र खरिपाटी भक्तपुरमा बुझाउनुपर्ने छ भने अन्य क्षेत्रको सहायक स्तरको पदहरुमा आवेदन गर्दा सम्बन्धित क्षेत्रीय कार्यालय क्रमशः विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज र अत्तरियामै दरखास्त बुझाउनुपर्ने छ । 

दरखास्त अन्तिम मिति यो विज्ञापन खुलाइएको २१ दिनभित्र र डबल दस्तुर तिरेर थप ७ दिनभित्र दिइनुपर्ने छ ।