काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले बुधबार खुला प्रतिस्पर्धाबाट एकैपटक झन्डै ३०० कर्मचारीका लागि दरखास्त खुलाएको छ ।

प्राधिकरणले देशभरका लागि ३ तहदेखि १० तहसम्मका लागि २९७ कर्मचारी पदपूर्ति गर्न दरखास्त खुलाएको हो ।

प्राधिकरणले सबैभन्दा धेरै ३, ४ र ५ तहमा २५३ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ । प्राधिकरणले ५ तहमा १०५ जना, ४ तहमा ८३ र ३ तहमा ६५ जना कर्मचारी माग गरेको छ ।

प्राधिकरणले ५ तहमा मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर (इलेक्ट्रिकल), सुपरभाइजर (मेकानिकल), सुपरभाइजर (सिभिल), ड्रिलिङ सुपरभाइजर र ड्राफ्ट मेन पदपूर्ति गर्न लागेको छ ।

त्यस्तै ४ तहमा मिटर रिडर, सहायक लेखापाल, फोरमेन (इलेक्ट्रिकल), फोरमेन (मेकानिकल) र फोरमेन (सिभिल)का लागि दरखास्त खुलाइएको छ ।

यसैगरी ३ तहमा भने इलेक्ट्रिसियन, जुनियर मिस्त्री र जुनियर टेक्निसियन) पदमा प्राधिकरणले पदूपर्ति गर्ने भएको छ ।

प्राधिकरणले ७ तहमा इलेक्ट्रिकल, मेकानिकल, सिभिलतर्फ क्रमशः १२, ३ र ६ जना इन्जिनियर पदमा दरखास्त खुलाएको छ । यही तहमा सर्भे अधिकृत १ जना र इन्जिनियर २ जना माग गरेको छ । सातौँ तहमा प्रशासकीय अधिकृत ६ जना, लेखा अधिकृत ६ जना र कानुन अधिकृत १ जना माग गरिएको छ ।

यस्तै आठौँ तहमा सहायक प्रबन्धक (इलेक्ट्रिकल र सिभिलतर्फ) एक/एकजना माग गरिएको छ ।

नवौँ तहमा उपनिर्देशक (लेखा), उपप्रबन्धक (इलेक्ट्रिकल) र उपप्रबन्धक (सिभिल) १/१ जना माग गरिएको छ ।

प्राधिकरणले दसौँ तहमा सहायक निर्देशक (प्रशासन) र प्रबन्धक (प्राविधि) १/१ जना पदपूर्ति गर्ने भएको छ ।

प्राधिकरणले तेस्रो तहदेखि १० तहसम्मका लागि सोहीअनुसारको शैक्षिक योग्यता र अनुभव हुनुपर्ने जनाएको छ । यसका लागि प्राधिकरणको वेबसाइटमा हेर्न सकिनेछ ।

इच्छुक उम्मेदवारले भने अनलाइनमार्फत प्राधिकरणको career.nea.org.np बाट आवेदन दिन सक्नेछन् । आवेदन फागुन २२ गतेसम्म र दोब्बर दस्तुर तिरी फागुन २९ गतेसम्म दिन सकिनेछ ।