काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पौने २ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ। 

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि २८.३० प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ७ करोड ८४ लाख रुपैयाँ रहेकोमा यो वर्ष बढेर १० करोड ६ लाख रुपैयाँ पुगेको छ। यो अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि २ करोड ४७ लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिमा कम्पनीको रिजर्भ २ करोड ७३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष रिजर्भ १ करोड ६६ लाख रुपैयाँले ऋणात्मक थियो। 

चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ५.६९ रुपैयाँ रहेको छ। पीई रेसियो ५२.२३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९३.५० रुपैयाँ रहेको छ।