काठमाण्डौ । भारतमा विद्युतको चरम संकट हुने सम्भावना देखिएको छ। 

कोइलामा आधारित भारतका १३५ विद्युत् गृहमा कोइला निकै कम भएपछि विद्युतको चरम संकट हुने देखिएको हो। कुल विद्युत् उत्पादनको ७० प्रतिशत कोइलाबाट उत्पादन हुने भारतको महामारीपछिको आर्थिक उत्थानमा यसले गम्भीर प्रभाव पार्न सक्ने चिन्ता व्यक्त भएका छन्। यो संकट महिनौँदेखि बनिरहेको थियो।

कोभिडको दोस्रो लहरपछि भारतको अर्थतन्त्र उभो लाग्न थालेपछि ऊर्जाको माग ह्वात्तै बढ्यो। गत दुई महिनामा सन् २०१९ को त्यही दुई महिनाको तुलनामा ऊर्जा खपत १७ प्रतिशतले बढेको छ। यही समयमा विश्वभरि कोइलाको मूल्य ४० प्रतिशतले बढ्यो र भारतको आयात २ वर्षमा सबैभन्दा कम रह्यो।

विश्वकै चौथो ठूलो कोइला खानी भएको देश भए पनि भारत विश्वको दोस्रो ठूलो कोइला आयातकर्ता हो।  आयातित कोइलामा भर पर्ने विद्युत् गृहहरु अहिले भारतीय कोइलामा भर परेका छन्। जसले घरेलु कोइला मागमा थप भार परेको छ।

विज्ञहरु धेरै कोइला आयात गर्नु अहिलेको अवस्थामा विकल्प नभएको बताउँछन्। ‘हामीले विगतमा पनि कोइलाको अभाव देखेका थियौँ तर यसपटकको फरक भनेको कोइलाको एकदमै महँगो मूल्य हो’, अर्थशास्त्री तथा नोमुरामा उपाध्यक्ष डा. औरोदीप नन्दीले भने,
‘मैले महँगो कोइला आयात गरेँ भने म मूल्य पनि बढाउँछु, होइन त? व्यवसायले अन्तिममा यी सबै खर्च उपभोक्ताबाट लिने हो, यसैले यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अर्थतन्त्रकै अवमूल्यन गर्छ।’

यो संकट कायम रहे विद्युत् खर्च बढ्न सक्छ। अहिले भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढेको छ। इन्डिया रेटिङ रिसर्चका निर्देशक विवेक जैनले अहिलेको अवस्थालाई निकै खराब भने।

हालैका वर्षहरुमा भारतले जलवायु लक्ष्य प्राप्तिका लागि कोइलामा निर्भरता घटाउने कार्य गर्दा उसै पनि विद्युत् उत्पादन घटेको छ।

भारतका ऊर्जामन्त्री आरके सिंहले इन्डियन एक्सप्रेससँग अन्तर्वार्तामा आगामी ५–६ महिनाका लागि भारत तयार रहनुपर्ने बताएका छन्।

यो अवस्था रहिरहे एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुकले यथास्थानमा फर्किन संघर्ष गर्नुपर्ने कोल इन्डिया लिमिटेडकी पूर्वप्रमुख जोहरा चटर्जीले बताइन्। ‘विद्युत्ले सबै कुरालाई ऊर्जा प्रदान गर्छ। त्यसैले कोइलाको अभाव हुँदा उद्योगधन्दा सबै प्रभावित हुन्छन्’, उनले भनिन्, ‘यो भारतका लागि खतराको घन्टी भएको छ, अब देशले कोइलामाथिको निर्भरता घटाउँदै नवीकरणीय ऊर्जा रणनीति बनाउनुपर्छ।’ 

सरकारले अरुलाई नबेच्ने गरी आफ्नो प्रयोगका लागि कोइलाखानी भएका उद्योगबाट पनि कोइला किन्ने योजना बनाएको छ। तर विज्ञहरु यस्ता अल्पकालीन उपायले अहिलेको संकट टार्न सहयोग गरे पनि बढ्दो माग परिपूर्ति गर्न भारतले दीर्घकालीन वैकल्पिक समाधानहरु खोज्नुपर्ने सुझाव दिएका छन्। – बीबीसीबाट