काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ४८.२० प्रतिशतले घटेको हो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १६.३७ प्रतिशतले बढेर ५९ करोड ४८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ५१ करोड ११ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको अन्य आम्दानी ८९.८१ प्रतिशतले घटेर ३ करोड ४७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३४ करोड १३ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको कम्पनीको सञ्चालन मुनाफा ४९.०६ प्रतिशतले घटेर २६ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यस्तो मुनाफा ४८ करोड ३४ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकृत ईपीएस घटेर ७.३२ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस १५.५४ रुपैयाँ रहेको थियो। पीई रेसियो ५१.३७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २१४.१५ रुपैयाँ रहेको छ।