काठमाण्डौ । विद्युत नियमन आयोगले अपी पावर कम्पनी लिमिटेडलाई चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयरको सार्वजनिक निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको छ। 

आयोगले अपी पावरलाई आज (माघ १५ गते) पत्र पठाउँदै आयोगको गत माघ १० गते बसेको बैठकले अपी पावरलाई हकप्रदको प्रस्ताव वार्षिक साधारणसभामा लैजान सहमति प्रदान गरेको जानकारी गराएको हो। 

यसअघि कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि प्रस्तावित ७.५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण कायम हुने चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २११.६९ रुपैयाँको ४० प्रतिशत अर्थात १ः०.४० को अनुपात हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्ने जनाएको छ। 

कम्पनीले सञ्चालन गरी विद्युत उत्पादन गरिरहेका आयोजनाहरुको ऋणमोचन गर्न यो हकप्रद जारी गर्ने निर्णय गरिएको जनाएको छ। यसका लागि विद्युत नियमन आयोगबाट स्वीकृति लिई आगामी १९ औँ वार्षिक साधारणसभाबाट पारित गर्ने कम्पनीले जनाएको थियो। 

त्यसपछि हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइने र त्यहाँबाट अनुमति पाएपछि मात्रै हकप्रद जारी गरिने कम्पनीले जनाएको छ। 

कम्पनीले नौगडगाढ जलविद्युत आयोजना (८.५ मे.वा)को ३२ करोड २९ लाख ९० हजार ५९०.४३ रुपैयाँ, अप्पर नौगडगाढ जलविद्युत आयोजना (८ मे.वा.) को १ अर्ब ५ करोड ८८ लाख ५० हजार रुपैयाँ, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना (४ मे.वा.) को २१ करोड ६५ लाख ८३ हजार ४७५ रुपैयाँ, ढल्केवर सौर्य विद्युत आयोजना (१ मे.वा.) ४ करोड ४३ लाख ५० हजार रुपैयाँ र सिमरा सौर्य विद्युत आयोजना (१ मे.वा.) को ४ करोड २८ लाख रुपैयाँ ऋणमोचन गर्न हकप्रद जारी गर्न लागिएको जनाएको छ।