काठमाण्डौ । विद्युत नियमन आयोगले अपी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न सहमति प्रदान गरेको छ। 

आयोगले फागुन २६ गते (शुक्रबार) पत्र पठाउँदै अपी पावरलाई हकप्रद सेयर निष्कासन गर्न सहमति प्रदान गरेको जानकारी गराएको हो। 

अपी पावरले हकप्रद जारीको अनुमति माग्दै गत फागुन १७ गते आयोगमा निवेदन पेस गरेको थियो। निवेदनमा गत आर्थिक वर्षको ७.५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात १ः०.४ को अनुपातमा हकप्रद जारी गर्न निगमसँग अनुमति मागेको थियो।

निगमको अनुमतिसँगै अब अपी पावरले ४० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ। हकप्रद जारी गर्न अब अपी पावरले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्नुपर्नेछ।