काठमाण्डौ । सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । 

नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ ग्रहण कार्यक्रम शितल निवासमा आज साँझ ६ बजे राखिएको छ । 

प्रधानमन्त्रीको नियुक्तिसँगै नयाँ बन्ने सरकारमा मन्त्री बन्नसक्नेहरुको चर्चा भइरहेको छ । केही आकर्षक मन्त्रालयहरुमा कुन कुन नेताले अवसर पाउँछन् भन्ने विषयमा पनि राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ । 

पैंतीस लाख बढी लगानीकर्ताको सहभागिता रहेको सेयर बजारमा पनि अब बन्ने अर्थमन्त्रीको विषयमा अड्कलबाजी भइरहेको छ । योसँगै देशकै एक मात्र डलर अर्बपति विनोद चौधरी समेत मन्त्री बन्ने चर्चाले बजार तताएको छ । 

के विनोद चौधरी अर्थमन्त्री बन्दैछन् त ? हामीले यो विषयमा कांग्रेस र चौधरी निकट स्रोतहरुसँग बुझ्ने प्रयास गरेका छौं । 

स्रोतहरुको भनाईलाई आधार मान्ने हो भने विनोद चौधरीको पहिलो रोजाई अर्थमन्त्रालय छ । पछिल्लो समय नेपाली कांग्रेसमा निकै सक्रिय उनले अर्थ मन्त्रालय पाउने संभावना कम छ। तर, नेपाली कांग्रेसभित्रै प्रभावशाली मानिएका डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, ज्ञानेन्द्र कार्कीदेखि महेश आचार्यसम्मका नेताहरुले अर्थमन्त्री बन्न मुख मिठ्याएका कारण चौधरी यो दौडमा पछाडि पर्ने संभावना देखिन्छ । 

कांग्रेस निकट स्रोतले भने पछिल्लो समय देउवासँग निकै राम्रो ट्यूनिङ मिलेका कारण चौधरी नै अर्थमन्त्री बन्नसक्ने दाबी गर्छ । 

अर्थमन्त्रालय नपाएको अवस्थामा भने आफ्नो रुचिको विषयमा चौधरीले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरिसकेका छन् । चौधरी निकट स्रोतका अनुसार उनले अर्थमन्त्रालय नपाएको अवस्थामा उद्योग मन्त्रालय वा परराष्ट्र मन्त्रालय रोज्न सक्नेछन् ।