काठमाण्डौ । विराटनगर महानगरपालिकामा पनि मतगणना सुरु भएको छ । 

निर्वाचन कार्यालयका अनुसार विराटनगर महानगरपालिकाको वडानम्बर १, २ र ३ तथा १७, १८ र १९ नम्बर वडाको मतपेटिका खोलेर एकसाथ मतगणना थालिएको हो । 

विराटनगर महानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला तथा एमालेको तर्फबाट सागर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

नेपाली कांग्रेसमा कोइराला परिवारको गृहनगर पनि भएकोले विराटनगरमा कांग्रेसको किल्ला भत्काउन एमालेलाई वर्षौदेखि चुनौति हुँदै आएको छ । योपटक किल्ला भत्काउने एमाले प्रयास सफल नहुने कतिपय एक्जिट पोलका रिजल्टहरुले देखाएका छन् । 

विराटनगरमा उपमेयरमा गठबन्धनको तर्फबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव तथा एमालेबाट शिल्पा कार्कीबीच मुख्य भिडन्त हुनेछ । फ्याक्ट नेपाल नामक संस्थाले गरेको सर्वेक्षणमा विराटनगरमा मेयरमा नागेश कोइरालाले र उपमेयरमा एमालेकी कार्कीले जित्ने अवस्था देखिएको रिपोर्टमा दाबी गरिएको छ ।