काठमाण्डौ । विशेष अदालतले ९ सिमेन्ट उद्योगी र २७ जनाविरुद्ध परेको भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। 

न्यायाधीश रमेश पोखरेल, बलभद्र सापकोटा र खुसीप्रसाद थारुको शुक्रबारको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा दाबी नपुगेको ती उद्योग र भ्रष्टाचार संलग्न भनिएका २७ जनालाई सफाइ दिने फैसला सुनाएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको सिद्धार्थ मिनरल्स, सर्वोत्तम सिमेन्टका विष्णुप्रसाद न्यौपाने, मारुती सिमेन्टका शरद गोयल, अन्नपूर्ण क्वेरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रालिका प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्स एण्ड आयलका निपेश तायल, कञ्चन क्वेरिज प्रालिका भीमबहादुर थापा क्षेत्री र डोलोमाइट चुनढुंगा उद्योगका मानबहादुर श्रेष्ठ तथा विभागका महानिर्देशक घिमिरे, उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरेसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारी १ अर्ब २६ करोड १९ लाख ४८ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो। 

२०७६ जेठ १४ गते खानी तथा भूगर्भ विभागबाट तत्कालीन उपमहानिर्देशक रामप्रसाद घिमिरेको नेतृत्वमा गठित ३ सदस्यीय समितिले ती ९ वटा सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाणभन्दा बढी चुनढुंगा निकालेको भन्दै १ अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति उठाउनुपर्ने गरी कारबाही सिफारिस गरेको थियो। तर, क्षतिपूर्ति नलिई २०७७ जेठ १५ गते फेरि जयराज घिमिरेको संयोजकत्वमा अर्को समिति गठन गरी उक्त समितिको प्रतिवेदनअनुसार १८ लाखमात्र जरिवाना लिएर करिब १ अर्ब २५ करोड राज्यलाई घाटा गराएको भन्दै उजुरी परेको थियो। 

सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जनाविरुद्ध २०७८ माघ १२ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। अख्तियारले ९ वटा सिमेन्ट कम्पनीविरुद्ध पनि विशेष अदालतमा भष्ट्रचार मुद्दा दायर थियो। उनीहरु सबैले सफाइ पाएका छन्।

उद्योगीको पक्षबाट बहस गर्ने वकिलले ३० वर्षका लागि पाएको खानी धेरै प्रयोग गर्दा राज्यलाई बढी राजस्व तिर्दा कसरी भ्रष्टाचार हुन्छ भन्ने जिकिर गरेका थिए।