काठमाण्डौ । सरकारी लगानीमा संचालित तीन वाणिज्य बैंकले आर्थिक वर्ष २०७२/७३ को बित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमीटेड, ठूलो सञ्जाल भएको राष्ट्रिय वाणिज्य बैंक लिमीटेड र पछिल्ल्लो समय वाणिज्य बैंकको रुपमा क्रियाशील कृषि विकास बैंक लिमीटेडमध्ये कस्को प्रगति राम्रो होला ? को अगाडि र को पछाडि होलान् ? को बित्तीय रुपमा स्वस्थ र सवल होला ? ती बैंकले जारी गरेका चौथो त्रैमासिक रिपोर्टको आधारमा हामीले यी तीन बैंकको बित्तीय अवस्थाको केस्रा–केस्रा केलाउन प्रयास गरेका छौं । 

चुक्तापूँजीमा शून्य प्रगति
तीन सरकारी लगानीका बैंकमध्ये दुईको चुक्तापूँजी नेपाल राष्ट्रबैंकले तोके अनुसारकै छ । यसको अर्थ, दुई बैंकको चुक्तापूँजी ८ अर्ब माथि छ भने एउटा बैंकको त्यो भन्दा तल छ । कृषि विकास बैंकको चुक्तापूँजी १० अर्ब ३७ करोड रुपैयाँ रहेको छ । यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा चुक्तापूँजीतर्फ कुनै प्रगति गरेको छैन । 

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले पनि चुक्तापूँजी बढाउने प्रयास गरेन । यो बैंकको चुक्तापूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । 

नेपालको पहिला बैंक, नेपाल बैंक लिमीटेडले चुक्तापूँजी र समग्र व्यापार बढाउने उद्देश्यले एनआइडीसी डेभलपमेन्ट बैंकसँग मर्जरको प्रयास गरे पनि अर्थमन्त्रालयले चासो नदिंदा सोचे अनुसार चुक्तापूँजी बढाउन सकेन । अस्वस्थ बैंकलाई स्वस्थ बनाउन मुख्य बित्तीय सूचकहरुको सुधारमा व्यवस्थापन क्रियाशील रहँदा यो बैंकको चुक्तापूँजी पनि ६ अर्ब ४६ करोडमै सीमित बन्न पुग्यो । 

रिजर्ब र सरप्लस(जगेडा र कोष)
नेपाल बैंक लिमीटेडको रिजर्ब र सरप्लस घटेको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकको रिजर्ब र सरप्लस २ अर्ब ६३ करोड रुपैयाँको थियो । तर आब २०७२/७३ मा आएर यो घटी ३८ करोड ४७ लाख रुपैयाँमा झरेको छ । 

राष्ट्रिय वाणिज्य बैंकको पनि जगेडा कोष खुम्चिएको छ । आर्थिक वर्ष २०७१/७२ मा जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ थियो । तर यो वर्ष यो कोषमा ७३ करोड ४० लाख रुपैयाँ मात्र रहेको छ । 

कृषि विकास बैंकको जगेडा कोषमा भने निकै राम्रो प्रगति भएको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकमा ५ अर्ब ८० करोडको जगेडा कोष रहेकोमा यो वर्ष बढेर ८ अर्ब ३८ करोडको कोष बनेको छ । यो कोणबाट हेर्दा अन्य दुई बैंकको तुलनामा कृषि विकास बैंक अगाडि देखिएको छ । 

निक्षेप र ऋणतर्फको प्रस्तुती
कृषि विकास बैंकले गत वर्ष ७७ अर्ब ३ करोड निक्षेप संकलन गरी ६८ अर्ब ५७ करोड कर्जा प्रवाह गरेको थियो । आब २०७२/७३ को अवधिमा यो बैंकले ८७ अर्ब २६ करोड निक्षेप संकलन गरी ७९ अर्ब ८५ करोड कर्जा प्रवाह गर्न सफल भयो । 

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले यो वर्ष १ खर्ब ४६ करोड निक्षेप संकलन गरी ८५ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आबमा यो बैंकले १ खर्ब २४ करोड निक्षेप संकलन गरी ७५ अर्ब ८३ करोड कर्जा प्रवाह गरेको थियो । 

यस्तै, नेपाल बैंक लिमीटेडले गत वर्ष ७७ अर्ब ९९ करोड निक्षेप संकलन गरेकोमा यो वर्ष ८९ अर्ब ४१ करोड संकलन गरेको छ । गत वर्ष ५३ अर्ब ३८ करोड कर्जा प्रवाह गरेको यो बैंकले यो वर्ष सो शीर्षकमा ६३ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ । 

खूद ब्याज आम्दानीमा को अगाडि ?
नेपाल बैंक लिमीटेडले यो वर्ष ४ अर्ब ६९ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो आबमा यो बैंकको खूद ब्याज आम्दानी ३ अर्ब ३१ करोडमा सीमित थियो । खूद ब्याज आम्दानी यति धेरै बढाउनुको अर्थ हो, बैंकले कोर विजिनेशमा समेत बिस्तारको रणनीतिका साथ काम गरिरहेको छ । 

राष्ट्रिय वाणिज्य बैंकले अघिल्लो वर्ष ४ अर्ब ५९ करोडमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर यो वर्ष ५ अर्ब ५४ करोड पुर्याएको छ । 

यसैगरी, कृषि विकास बैंकले ५ अर्ब ६४ करोडमा सीमित खूद ब्याज आम्दानी बढाएर यो वर्ष ६ अर्ब १८ करोड पुर्याएको छ । 

संचालन नाफा
कृषि विकास बैंकले अघिल्लो आबको तुलनामा आर्थिक वर्ष २०७२/७३ को अवधिमा संचालन नाफातर्फ छलाङ मारेको छ । यो बैंकले यो वर्ष २ अर्ब ६८ करोड संचालन मुनाफा गरेको छ । यो बैंकले अघिल्लो आबमा भने ५८ करोड ३७ लाख मात्र संचालन नाफा आर्जन गरेको थियो ।  

राष्ट्रिय वाणिज्य बैंकले पनि संचालन मुनाफातर्फ राम्रो प्रगति हासिल गरेको छ । यो बैंकले अघिल्लो आबमा १ अर्ब ४७ करोड संचालन मुनाफा गरेकोमा यो वर्ष बढाएर २ अर्ब ७ करोड संचालन नाफा आर्जन गरेको छ । 

नेपाल बैंक लिमीटेडले पनि संचालन नाफामा ठूलै छलाङ मारेको छ । अघिल्लो आबमा ३८ करोड ६६ लाखमा सीमित संचालन मुनाफा यो वर्ष २ अर्ब २१ करोड पुगेको हो । 

खूद नाफामा को अगाडि ?
नेपाल बैंक लिमीटेडले आफ्नो नाममा रहेको केही जग्गा, घर तथा क्रसहोल्डिङ सेयर समेत बिक्री गरेका कारण खूद नाफातर्फ निकै ठूलो फड्को मारेको देखिएको छ । अघिल्लो आबमा यो
बैंकको खूद नाफा ४८ करोड ३८ लाख रहेकोमा यो वर्ष बढेर ३ अर्ब १ करोड माथि पुगेको छ । 

राष्ट्रिय वाणिज्य बैंकको खूद नाफा भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ६४ करोड खूद नाफा आर्जन गरेकोमा यो वर्ष २ अर्ब ६४ करोड मात्र खूद नाफा भएको छ । 

कृषि विकास बैंकको खूद नाफा पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६० करोड खूद नाफा रहेको यो बैंकले ०७२/७३ मा भने २ अर्ब ५७ करोड मात्र खूद नाफा कमाउन सक्यो । 

अन्य सूचकतर्फको तुलनात्मक अध्ययन
कृषि विकास बैंकले यो आर्थिक वर्षमा प्रति सेयर आम्दानी ५५.६४ रुपैयाँ गर्न सफल भएको छ । प्रति सेयर आम्दानी बढाउने सूचिमा यो वर्ष कृषि विकास बैंक वाणिज्य बैंकहरुमध्ये तेश्रोमा पर्न सफल भएको छ । प्रति सेयर आम्दानीमा नवील र एभरेष्ट बैंकपछि कृषि विकास बैंकले स्थान सुरक्षित गरेको छ । तर आफ्नै पूर्व प्रति सेयर आम्दानी भन्दा चाहि यो वर्ष कम भएको हो । कृषि विकास बैंकको गत वर्षको प्रति सेयर आम्दानी ९१.५१ रुपैयाँ थियो । 

कृषि विकास बैंकका अन्य सूचकहरु पनि सुधारिएका छन् । यो बैंकले निस्क्रिय कर्जालाई ५.३५ प्रतिशतबाट घटाएर ३.८५ प्रतिशतमा झारेको छ । यस्तै, १३.९९ प्रतिशत रहेको पूँजी कोष तथा जोखिम भारित सम्पत्ति यो वर्ष घटाएर १२.८४ प्रतिशतमा झारिएको छ । 

यसैगरी, कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ७७.४६ प्रतिशत रहेकोमा यो वर्ष ७७.३३ प्रतिशत कायम भएको छ । मूल्य आम्दानी अनुपात(पीई रेसियो) भने बढेको छ । यो राम्रो संकेत होइन । अघिल्लो आबमा ४.७२ रहेको पीई रेसियो बढेर यो वर्ष १३.८० गुणा पुगेको छ । समग्रतामा चाहि यो पीई रेसियो खराब होइन । 

३.५७ प्रतिशत रहेको सम्पत्तिमा प्रतिफल घटेर २.२९ प्रतिशतमा झरेको छ भने इक्वीटीमा प्रतिफल पनि २२.२१ प्रतिशतबाट घटेर १७.७८ प्रतिशतमा झरेको छ । प्रति सेयर नेटवर्थ २४८.५६ रुपैयाँ रहेकोमा बढेर यो वर्ष ३०३.१५ रुपैयाँ पुगेको छ । 

बैंकको तरलता अनुपात समेत घटेको छ । अघिल्लो आबमा २८.९२ प्रतिशत रहेको तरलता अनुपात यो वर्ष २३.३३ प्रतिशतमा आइपुगेको हो । 

यसैगरी, नेपाल बैंक लिमीटेडको प्रति सेयर आम्दानी ४६.६९ रुपैयाँ रहेको छ । यो बैंकको मूल्य आम्दानी अनुपात १०.०७ गुणा छ । तरलता अनुपात ३७.२० प्रतिशत रहेको छ । यस्तै, प्रति सेयर नेटवर्थ १०५.९५ रुपैयाँ कायम भएको छ । यो बैंकले ३.९८ प्रतिशतमा  रहेको निस्क्रिय कर्जालाई घटाएर २.७२ प्रतिशतमा झारेको छ । यस्तै, कस्ट अफ फण्ड २.३३ प्रतिशतबाट १.९८ प्रतिशतमा झारेको छ । सीडी रेसियो ६६.१६ प्रतिशत छ । अघिल्लो आबमा यो रेसियो ६५.३४ प्रतिशत रहेको थियो । 

यता, राष्ट्रिय वाणिज्य बैंकको १०.१६ प्रतिशत रहेको पूँजीकोष र जोखिम भारित सम्पत्ति यो वर्ष ११.२० प्रतिशतमा पुगेको छ । ५.३५ प्रतिशत रहेको निस्क्रिय कर्जा घटेर ३.९५ प्रतिशतमा आइपुगेको छ । कर्जा निक्षेप अनुपात(सीडी रेसियो) गत वर्ष ६१.०५ प्रतिशत रहेकोमा यो वर्ष घटेर ५८.४६ प्रतिशतमा आइपुगेको छ ।