काठमाण्डौ । अनधिकृत व्यक्तिमार्फत बजेटमा करको दर हेरफेर गरेको आरोपमा लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष समितिले बुधबार बयान लिने भएको छ। 

समितिले शर्मालाई बजेट निर्माणका विषयमा उठेका विषयहरुका सोधपुछ गर्न बोलाएको हो। समितिको मंगलबार बसेको बैठकले शर्माको बयान लिने निर्णय गरेको थियो। 

गत असार २२ गते शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। सोही दिन शर्माले आफूमाथि लागेका आरोप निराधार रहेको भन्दै छानबिन प्रक्रियालाई सहयोग गर्नका लागि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए। 

यो समितिले गत मंगलबारबाट औपचारिक रुपमा छानबिन प्रक्रिया अगाडि बढाएको थियो। 

यो समितिलाई छानबिन कार्य सुरु गरेको १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। यद्यपि आज ८ दिन बितिसक्दा पनि समितिले शर्मामाथि लागेका आरोपका विषयमा प्रमाण जुटाउन सकेको छैन। 

यसअघि अर्थ मन्त्रालयका कर्मचारीहरुसँग सोधपुछ गर्दा पनि शर्माविरुद्ध कसैले बयान नदिएको समितिका एक सदस्यले बताए। ‘प्राविधिक झिकाएर सीसीटीभी फुटेज पनि रिकभर गर्ने कोसिस भएको थियो, त्यो पनि सफल भएन’, ती सदस्यले भने।