-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले धितोपत्र बजारमा ब्रोकर लाइसेन्स वितरणमा चलखेल गरिरहेको छ । 

विगत लामो समयदेखि लाखौं लगानीकर्ताहरुले बैंकका सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स वितरणको माग गरिरहेका छन् । लगानीकर्ताको यही आवाजलाई मौद्रिक नीतिले समेत सम्बोधन गरिसकेको छ । तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएको यो व्यवस्थालाई आर्थिक वर्ष सकिन १५ दिन पनि बाँकी नरहँदा अन्यौलको भूमरीमा पार्न खोजिँदैछ ।

मौद्रिक नीतिले गरिसकेको व्यवस्था कार्यान्वयनमा इमानदार बन्नुपर्नेमा पछिल्लो समय बैंकलाई ब्रोकर लाइसेन्सको विषयमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नै तीव्र चलखेल गरिरहेका उनका पछिल्ला केही दिनका विरोधाभासपूर्ण अभिव्यक्तिहरुले पुष्टि गर्छ । साउदले एक दिनअघि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनै नसकिने अभिव्यक्ति सार्वजनिक गरे । जबकि त्यसभन्दा केही दिनअघि बिजशालासँग अब बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स फटाफट वितरण गर्न थालिने बताएका थिए । उनको अभिव्यक्ति रातारात परिवर्तन हुनुमा समेत भित्रभित्रै निकै ठूलो चलखेल भइरहेको बुझ्न त्यति गाह्रो छैन ।

हाल नेपाल राष्ट्रबैंकले १० वटा बैंकहरुलाई ब्रोकरेज सेवा संचालनका लागि सहायक कम्पनी स्थापना गरी अगाडि बढ्ने स्वीकृति दिइसकेको छ । यीमध्ये चारवटा वाणिज्य बैंकहरुले सहायक कम्पनी स्थापना गरी नेप्सेमा आवेदन दिइसकेका छन् । आवेदन दिएका बैंकहरुलाई प्रक्रिया पुर्याएर ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डमा सिफारिस गर्ने दायित्व बोकेको नेप्सेले यी सबै काम छाडेर उल्टो यात्रा सुरु गरेको देखिन्छ । 

राज्यले नै नीतिगत व्यवस्था गरेको १ वर्ष बितिसक्दा समेत बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरण गर्ने मुख्य जिम्मेवारी पाएको  नेप्सेले सो विषयलाई अन्तै मोड्न खोज्नुले लगानीकर्र्ताको अहित हुने देखिन्छ । 

नेप्सेका सीइओ चन्द्रसिंह साउदले नेप्से सञ्चालक समितिमा छलफलकै क्रममा रहेको, कहिले कार्यविधि बनाइरहेको त कहिले बैंकलाई मात्र नभई सबै इच्छुक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरण गर्ने भन्दै विरोधाभास अभिव्यक्ति दिइरहेका छन् । बैंकलाई ब्रोकर लाइसेन्स वितरणको विषयमा उनले दिउँसै रात पार्ने गरी अभिव्यक्ति दिंदा समेत न नियामक धितोपत्र बोर्ड न त अर्थमन्त्रालयले नै चासो राखेको देखिन्छ । यसले अन्तिम अवस्थामा पुगेको बैंकलाई ब्रोकर लाइसेन्सको मुद्धालाई छायाँमा पार्न सबैतिर मिलीभगत नै भइरहेको त छैन ? भन्ने आशंकालाई समेत जन्म दिन्छ ।

बिजशालाले विगत केही समयदेखि बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरणमा भइरहेको भित्री चलखेलको भण्डाफोर गर्दै आएको छ।

बिजशाला स्रोतका अनुसार नेप्से प्रमुख साउद अर्थमन्त्रालसँग निकट रहेर थप ब्रोकर लाइसेन्स वितरणको कसरत गरिरहेका छन् । उनले आफ्नो कार्यकालको सुरुवातदेखि नै ५० वटामा सीमित ब्रोकरको संख्यालाई १०० बनाउन खोजेको बताउँदै आएका थिए । उनको यही ध्येयका कारण बैंकलाई ब्रोकर लाइसेन्सको मुद्धा छायाँमा पारिएको स्रोत दाबी गर्छ । 

ब्रोकरसँगको साँठगाँठ
स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाट खुलेरै बैंकलाई ब्रोकर लाइसेन्स वितरण गरिनुहुन्न भन्दै हिँडिरहेका छन् । ब्रोकरका अध्यक्षको अभिव्यक्तिसँगै मिल्ने गरी साउदको समेत जिब्रो फेरिएको छ । यसले समेत रानाभाट र साउदबीचको साँठगाँठ प्रष्टिने स्रोत दाबी गर्छ ।

कतिसम्म भने रानाभाटको अभिव्यक्ति राज्यको नीतिलाई नै चुनौति दिने खालको रहे पनि उनलाई कार्वाही गर्नुका सट्टा रानाभाटको अभिव्यक्ति प्रजातान्त्रिक अधिकार भित्र रहेको भन्दै साउदले खुलेआम बचाउ गर्न थालेका छन् । रानाभाटको अराजक अभिव्यक्तिको विषयलाई लिएर नेप्सेकै उच्च व्यवस्थापनमा रहेका कतिपय कर्मचारी असन्तुष्ट छन् । तर, साउद भने लोकतन्त्रमा बोल्न पाइहालिन्छ नि भन्दै रानाभाटको पक्षपोषणमा लागेका छन् । अघिल्लो साता उनले बिजशालासँग हाकाहाकी नै भनेका थिए–‘रानाभाटले बोल्नु उनको प्रजातान्त्रिक अधिकार हो ।’

तर, राज्यले गरिसकेको नीतिगत व्यवस्थाविरुद्ध बोल्ने वा नेप्सेको कार्यक्षमतामाथि प्रश्न उठाउने अन्य ब्रोकरहरुलाई भने साउदले कार्यालयमै बोलाएर थर्काउने गरेका छन् । अन्य सामान्य इस्यूमा ब्रोकरलाई बोल्न बन्देज लगाउने नेप्सेले राज्यको नीतिविरुद्ध लगातार विष बमन गरिरहने रानाभाटलाई किन काखी च्यापिरहेको छ भन्ने विषय रोचक बन्नसक्छ । 

‘मलाई अचम्म लाग्छ कि राज्यको नीति निर्देशनमै आएको विषयलाई चुनौति दिने र राज्यविरुद्ध अभिव्यक्ति दिने रानाभाटमाथि नेप्सेले किन कारबाही गरेन ? यसरी बोल्नेको त लाइसेन्स खारेज हुनुपर्ने हो ।’ नेप्सेकै एक अधिकारी भन्छन् ।

लगानीकर्ता पनि चूप
साउदले कार्यान्वयनको अन्तिम चरणमा पुगिसकेको बैंकलाई ब्रोकर लाइसेन्सको मुद्धालाई सुनियोजित ढंगले तुहाउन खोजे पनि लगानीकर्ताको नाममा खोलिएका विभिन्न संघसंगठन चूपचाप बसिरहेका छन् । बैंकलाई ब्रोकर लाइसेन्स माग्नलाई नेप्से घेराउ गर्ने, प्रदर्शन गर्ने र अनसनसम्म बस्ने लगानीकर्ता त्यही माग पूरा हुने अवस्थामा षड्यन्त्रपूर्वक तुहाउन खोज्दा समेत चूप बस्ने अनौठो प्रवृति समेत यहीबेला देखिएको छ । 

बिजशालासँगको कुराकानीमा लगानीकर्ताका नेताहरुले बैंकलाई ब्रोकर लाइसेन्स नदिए आन्दोलन गरिने चेतावनी त दिएका छन्, तर साउदले खुलेआम यो विषय तुहाउन खोज्दा सामान्य खबरदारी समेत गर्न सकेका छैनन् । लगानीकर्ताका नेताहरुको यस्तो प्रवृतिले उनीहरुको नियतमाथि समेत शंका गर्ने ठाउँ बन्न सक्छ । कतिपय लगानीकर्ताका नेताहरुले आफ्नो नाम उल्लेख नगर्न भन्दै बैंकलाई ब्रोकर लाइसेन्स वितरणमा ढिलासुस्ती गरेको र यसलाई अड्काउने मुख्य भिलेनको भूमिका नै साउदले खेलेको बताउँछन्, तर खुलेरै यही कुरा बाहिर ल्याउन भने चाहदैनन् । 

यसरी बैंकलाई ब्रोकर लाइसेन्सको मुद्धा कार्यान्वयनको मुखैमा आएर तुहाउने चलखेल भइरहेको छ । यसप्रति लगानीकर्ता सचेत नहुने हो भने रातारात यो विषय अनेकन बहानामा तुहाइन कुनै बेर लाग्दैन ।