-भक्तराज रसाइली 
काठमाण्डौ । दोस्रो बजारको लगानीलाई निकै जोखिमपूर्ण मानिन्छ । अझ नेपाली सेयर बजारमा त स साना विषयले समेत बजार प्रभावित भई सूचीकृत कम्पनीहरुका सेयरमूल्यमा तीव्र उत्तारचढाव देखिएको पाइन्छ । 

हिजोआज दोस्रो बजारमा नेप्से परिसूचकको विन्दू नै तोकेर सामाजिक सञ्जाल, युट्युब तथा अनलाइन मिडियाहरुमा प्रक्षेपण यत्रतत्र भइरहेको छ । नेप्से परिसूचक घटबढ गराउन प्राविधिक विश्लेषक तथा बजार विश्लेषकहरु कुनै पनि निकायबाट आधिकारिकता नपाएको प्रश्नसमेत खडा हुन थालेको छ र पूँजीबजारको विश्वसनीयतालाई समेत धेरथोर आँच पुगेको छ । तर, बजार न हो सानो सेन्टिमेन्टमा ठूलो प्रभाव परि नै हाल्छ । 

नेपालको सानो बजार सानो हल्ला र अफवाहमा कुद्ने भएका कारण प्राविधिक विश्लेषकहरुले परिसूचकबारे किटान गरेरै सामाजिक सञ्जाल र युट्युबमा राख्दा लगानीकर्ताहरु दिगभ्रमित हुने गरेका छन् ।

बजारको सिद्धान्त आधारभूत र प्राविधिक पाटोबाट समेत सञ्चालित हुने कुरा हामीले नकार्न सक्दैनौं यद्यपि नियमन निकायको हालसम्म आँखा नपुगेको सन्दर्भ र छाडा रुपमा परिसूचकबारे गरिएको विश्लेषणले आम लगानीकर्ताहरु मर्माहत र भ्रमित भइरहेको गुनासो पनि बढ्दै गइरहेको छ ।

संवेदनशील यस्ता विषयमा नियामक निकायका अधिकारीहरु बेखबर हुने र नियमनको दायरामा ल्याउने कोशिश नहुँदा समस्या अझै विकराल बन्दै गइरहेको छ । 

ती विश्लेषकहरु कुनै निकायबाट प्रमाणित नहुनु र नेप्से परिसूचकबारे अन्धाधुन्ध बोल्दा साना र सोझा लगानीकर्ताहरु बिलखबन्दमा पर्ने गरेका छन् । 

आफूलाई ‘प्राविधिक विश्लेषक’को उपमा दिएर विभिन्न इन्भेष्टमेन्ट कम्पनी र गिरोहसँगको मिलेमतोमा बजार प्रक्षेपण हुने गरेको स्रोतहरु बताउँछन् । यतिसम्म पनि भेटिएको छ कि नियामक निकायका उच्च अधिकारीहरुसमेत बजार प्रक्षेपण बारे बुझ्न त्यस्ता अनसर्टिफाइड टीए(टेक्निकल एनलिस्ट)लाई कार्यालयमा डाकेरै सुझाव लिने गर्छन् । 

म्युचुअल फण्डहरु पनि अन्धभक्तझैं भएर विश्लेषककै रेखामा अल्झेर खरिदबिक्रीको निर्णय लिने गरेका त्यस्ता फण्ड व्यवस्थापकहरु नै स्वीकार गर्छन् ।

नेपालमा च्याउसरी खोलिएका इन्स्टिच्यूटहरुले प्राविधिक विषयमा कुनै निकायबाट अनुमति नै नलिई कक्षा सञ्चालन गरेपछि दोस्रो बजारको लगानीमा जोखिमसमेत थप बढ्दै गइरहेको छ नै नियामकले समेत यस विषयमा कुनै चासो देखाएको पाइँदैन । 

आम लगानीकर्ताहरु भने यो विषयमा बेलैमा नियामक नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आवश्यक नीति र कानूनको परिधिमा ल्याउनुपर्ने आवाज उठाउन थालेका छन् । 

दवाब समूहका अध्यक्ष हरि ढकाल प्राविधिक विश्लेषकहरुको प्रक्षेपण भ्रमपूर्ण र कुतर्क रहेको जिकिर गर्छन् । खरबौंको पूँजीबजारमा तथाकथित प्राविधिक विश्लेषकहरुले नेप्से परिसूचकको भविष्यवाणी मिडिया, सामाजिक सञ्जाल र युट्युबबाट गरी भावानात्मक आवेग र उत्तेजना फैलाइरहेका उनको आरोप छ । सेबोनले नियमनको दायरामा ल्याउनुपर्नेमा उनको जोड छ। 

लगानीकर्ता चन्द्र रायमाझीले विश्लेषकहरुले भ्रमात्मक प्रचार गर्दा नियामक निकायले नियन्त्रण गर्न नसक्नु लापरबाहीको पराकाष्ठा भएको बताए ।

कम्पनीहरुबारे विश्लेषण नै नगरी हल्लाका भरमा लगानी गर्ने परिपाटीप्रति रायमाझी अचम्म छन् । अर्थमन्त्री एउटा व्यक्तिको पुनरागमन हुँदा बजारले नकारात्मक प्रतिक्रिया गर्नु आफैंमा दुखद भएको जिकिर गर्दै रायमाझी सूचीकृत कम्पनीहरुका वासलात र नाफामा आधारित भई सचेततापूर्वक लगानी गर्न लगानीकर्ताहरुलाई सुझाउँछन् ।

स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाट अविलम्ब विश्लेषकहरुलाई सर्टिफाइ गराउने कार्य गर्नुपर्नेमा जोड दिन्छन् । विश्लेषक स्वयम्को पोर्टफोलियो डिस्क्लोज गरेर सन्तुलित र स्वतन्त्र रुपमा कम्पनीको विश्लेषण स्पष्ट रुपमा आउनुपर्छ । उनले भने–‘विश्लेषकहरुलाई नियमनको परिधिभित्र ल्याई सर्टिफाइ गर्ने अभ्यास गरिनुपर्छ ।’

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुली भन्छन्–‘भारतको नियामक सेबीले विश्लेषकहरुलाई अनुमति दिने अभ्यास छ । सेबीले तोकेको पाठ्यक्रममा समावेश र निर्धारित भएर आवेदन दिएर उनीहरु उत्तीर्ण भएपछि मात्र विश्लेषकको प्रमाणपत्र पाउने अभ्यास छ । तर दुखको कुरा नेपालमा यस्तो अभ्यास हालसम्म पनि भएको छैन । नेप्से र सेबोनले समेत अब यस विषयमा सोच्ने बेला आइसकेको छ ।’ भारतकै अभ्यासलाई अनुसरण गरे दोस्रो बजार थप मर्यादित र अनुशासित बनाउन मद्धत पुग्ने उनको भनाई छ । 

‘हामीले बोर्डबाट लाइसेन्स लिएकालाई बजार बारे नबोल्न निर्देशन दिएका छौं ।’नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसी भन्छन्–‘अब बजार विश्लेषकहरुलाई पनि नियमन गर्नुपर्ने आवाज उठेकाले बोर्ड यस विषयमा गम्भीर छ ।

सामाजिक सञ्जाल र मिडियाहरु हाम्रो कार्यक्षेत्र नभएतापनि अन्य नियमनकर्ता संस्थासँग समन्वय गरेर निकट समयमा निर्देशन दिने बारे छलफल भइरहेको उनको दाबी छ । हल्लाका पछाडि नलागी वस्तुगत विश्लेषण गरेर मात्र लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गर्दै बोर्ड लगानीकर्ताको हकहितका लागि सदैव सजग रहेको उनको भनाइ छ । धितोपत्र ऐनको अधिकार प्रयोग गर्न बोर्ड पछि नहट्ने उनी बताउँछन् ।