काठमाण्डौ । कतारी शाही परिवारले विवादास्पद प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि फिफालाई सबै विश्वकप स्टेडियमहरूमा मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउन दबाब दिइरहेको खबर बाहिरिएको छ । 

आयोजकहरूले विश्व कपको आठ स्टेडियमहरूमा फुटबल निकायको सबैभन्दा ठूलो प्रायोजकहरूमध्ये एक–बडवाइजर बियर बेच्न रोक्न फिफालाई ठूलो दबाब दिएका छन्।

रिपोर्टहरुकाअनुसार यदि यो दवाब कार्यान्वयन हुने अवस्था बन्यो भने बड्बाइजरले बियर बेच्न पाउने छैन भने उसको उपस्थिति ब्राण्डिङ सामाग्रीहरुमा पनि हुनेछैन । यसबाट फिफाले लाखौं डलर बराबरको सम्झौता उल्लंघनसँगै आम्दानी पनि गुमाउनेछ । 

फ्यानहरुलाई विश्वकप खेलको दौरान बियर किन्न अनुमति दिइनेछ कि छैन, अझै पनि स्पष्ट गरिएको छैन । दोहाको पार्कहरुमा मात्र रक्सी उपलब्ध हुने गरेको छ । यहाँको शाही परिवारले त्यहाँबाहेक खेलको दौरान बियर समेत प्रतिबन्ध लगाउनुपर्ने भनिरहेका छन् । 

द टाइम्सको एक रिपोर्टअनुसार विद्यमान बियर नीति खारेज गर्नका लागि कतारको शाही परिवारले निरन्तर दवाब दिइरहेको छ । बड्वाइजर र फिफाबीच यो विषयमा छलफल जारी रहेको रिपोर्टमा उल्लेख छ । 

द टाइम्सले कतारी शाही परिवारको हस्तक्षेपपछि बड्वाइजरको बिक्री हटाउने सम्भावना रहेको बताएको छ।

फिफाले दवाबका बीच यस हप्ता कतारी आयोजकहरूलाई स्टेडियमहरूमा बड्वाइजरको उपलब्धतामा एक छुट दिएको छ । 

सो क्रममा कतारी आयोजकहरूले बड्वाइजरका स्ट्यान्डहरूले आवातजावतमा अवरोध गरेको भन्दै आपत्ति समेत जनाएका थिए । त्यसपछि फिफाले उनीहरूलाई टूर्नामेन्ट सुरु हुनुअघि नै कम देखिने स्थानहरुमा त्यस्ता स्ट्याण्डहरु सार्न भनेको थियो । 

न्यूयोर्क टाइम्सले यो आदेश कतारका शासकका भाइ शेख जसिम बिन हमाद बिन खलिफा अल थानीबाट आएको बताएको छ।

तीन महिनाअघि मात्रै फिफाले पनि आयोजकले उद्घाटन मितिमा मात्रै खेल खेल्न सक्ने भन्दै प्रतियोगिताको सुरुवात मिति एकदिन अघि सार्ने सहमति गरेको थियो।

शाही परिवारको दवाब कार्यान्वयन हुने अवस्था बन्यो भने स्टेडियमहरूमा रक्सी उपलब्ध हुने एक मात्र ठाउँ हस्पिटालिटी बक्स भित्र छ। एक खेलका लागि यो बक्सको लागत मात्रै २२ हजार ४५० डलर बराबर रहेको छ । 

यस्ता आतिथ्यताका लागि राखिएका बक्सहरुमा आफ्नो छनौट र प्राथमिकता अनुसार उपलब्ध पेयहरूको छनोट गर्ने विकल्प उपलब्ध गराउँछन् ।

अर्थात त्यस्ता बक्सहरुमा खेल हुनुअघि, खेल समयमा र पछि पनि सफ्ट ड्रिंक्स, बियर, स्याम्पेन, विभिन्न खालका वाइन र प्रिमियम क्वालिटीका स्पिरिटहरु उपलब्ध हुन्छन् । 

एक रुढीवादी मुस्लिम देशको रुपमा चिनिने कतारमा सामान्यतया रक्सी प्रतिबन्धित छ । तर, दोहाका होटलहरूमा भने रक्सी बेचिन्छ। 

स्टेडियमहरूमा बियर बेच्न प्रतिबन्ध लगाउने शाही परिवारको दवाबपछि उत्पन्न हालको तनाव अघि भने कतारले एक महिना लामो प्रतियोगितामा मदिरासम्बन्धी कानूनहरू खुकुलो पार्न बाध्य हुने वास्तविकता स्वीकार गरेको देखिन्छ।

फिफाले पहिले नै स्टेडियम भित्र बियर बिक्रीमा केही सम्झौता स्वीकार गरिसकेको छ, भेन्डिङ स्टलहरू कम देखिने क्षेत्रमा सारेर।

यदि कतारी शाही परिवारले आफ्नो अडान छाडेन भने फिफाले लाखौं डलरको बड्बाइजरसँगको सम्झौता उल्लंघन गरेको मानिनेछ, जसका कारण यो टूर्नामेन्टबाट उनीहरूको नाफाको ठूलो हिस्सा गायब भएको देख्न सकिन्छ।

तर, एउटा झिनो सम्भावना चाहिँ फ्यान पार्कहरुमा गएर रक्सी पिउने हुनसक्छ । तर, यी पार्कहरु पनि पेय पदार्थको अस्वभाविक मूल्य असूलीका कारण यसअघि नै विवादमा परिसकेका छन् । त्यसपछि केवल सार्वजनिक क्षेत्रहरु मात्र बाँकी रहनेछन्, जहाँ फुटबल समर्थकहरुले रक्सी किन्न पाउनेछन् ।  

यसअघि एक पटक विश्वकप सुरु भएपछि फ्यान जोनहरूमा बेलुका ६ः३० बजेपछिबाट बियर उपलब्ध गराउने योजना बनाइएको थियो । 

बड्बाइजर फिफा विश्वकपको सबैभन्दा आकर्षक प्रायोजकमध्ये एक हो र विश्वकप खेलहरूमा बियर बेच्ने विशेष अधिकार उसलाई छ।

प्रशंसकहरूलाई एक पटकमा चार पिन्टहरू मात्र किन्न अनुमति दिइनेछ । प्रत्येकको मूल्य १२ डलर राखिएको छ । यस्तै, नन्अल्कोहोलिक बियर चाहिँ प्रतिपिन्ट १० डलरमा उपलब्ध हुनेछ । 

कतारले विश्वकपमा १० लाखभन्दा बढी दर्शकको अपेक्षा गरेको छ ।