काठमाण्डौ । सुन्दर युवतीहरुलाई र्याम्पमा उतारेर विश्वका कैयन देशमा सुन्दरी प्रतियोगिता भएको सुनिएकै हो । तर विश्वका धेरै देशहरुको सहभागितामा एक अन्तर्राष्ट्रिय स्तरको संस्थाले केही वर्षअघिदेखि सुन्दर तथा आकर्षक नोटको समेत ‘ब्यूटि कम्पिटिसन’ गर्दै आएको छ । ‘इन्टरनेशनल बैंक नोट सोसाइटी’ नामको संस्थाले नोटहरुबीच ब्यूटि कम्पिटिसन गर्ने गर्छ  । यो संस्थाले २०१६, अप्रिल २६ का दिन संसारकै सबैभन्दा सुन्दर नोट छनौट गरेको छ । यो वर्ष न्यूजिल्याण्डको ५ डलरको नोटले बाजी मारेको छ । र, यो नोटलाई ‘बैंक नोट अफ दि इयर २०१५’ को उपाधि समेत दिइएको छ । प्यानल भोटिङको आधारमा बिजेताको छनौट गरिएको थियो । 

नोट ब्यूटि प्रतियोगिताको अन्तिम प्रतियोगीको रुपमा न्यूजिल्याण्डसँग स्वीडेन, रुस र स्कटल्याण्डका नोटहरु प्रतिस्पर्धामा थिए । तर  यी सबै देशका नोटलाई हराउँदै न्यूजिल्याण्डले उपाधिमाथि कब्जा जमाएको हो । स्वीडेनको २० क्रोनर, रुसको १०० रुबेल, कजाकिस्तानको २० हजार टेंगे र स्कटल्याण्डको ५ पाउण्डको नोट समेत यो प्रतियोगितामा सहभागी थिए । यो प्रतियोगितामा ३० देशका नोटहरुलाई सामेल गराइएको थियो । 

सुन्दर नोट कस्तो छ ?
विश्वकै आकर्षक र सुन्दर नोटको उपाधि जित्न सफल न्यूजिल्याण्डको नोट सुन्तला रंगको छ । नोटको एकातर्फ पर्वतारोही सर एडमण्ड हिलारीको फोटो छ । नोटको अर्को पाटोमा पेंगुइन चराको सुन्दर र चम्किलो तस्विर छ । 

न्यूजिल्याण्डमा यो नोट २०१५ अक्टोबरमा जारी गरिएको थियो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार यो नोटको डिजाइन र छपाई क्यानाडाको राजधानी ओटावामा भएको हो । 

विश्वका विभिन्न देशका ३० नोटहरुलाई सन् २०१५ को उत्कृष्ट र सुन्दर नोटको प्रतियोगितामा सहभागी गराइएको थियो । नोटहरुको छनौट मतदानबाट भएको थियो । प्यानलमा सहभागी २ हजार सदस्यले गरेको भोट तथा सबै आधारहरुलाई हेरेर उत्कृष्ट नोटको छनौट गरिएको थियो । 

नोटको  अनौठो कम्पिटिसन गराउने इन्टरनेशनल बैंक नोट सोसाइटी(आइबिएनएस) एक गैरनाफामुखी शैक्षिक संस्था हो । यसको स्थापना सन् १९६१ मा भएको थियो । यो संस्थाले सबै देशको कागजी नोटको अध्ययन गर्ने गर्दछ ।

नम्बर वान बन्ने अन्तिम दौडमा सिंगापुरको ५० डलरको नोट,  स्वीडेनको २० क्रोनरको नोट, निकारागुआको ५० कोरडोबासको नोट, कजाकिस्तानको २० हजार टेंगा सामेल थिए । 

कुन वर्ष कुन नोट सुन्दर ?
सन् २००५ मा फेरो आइसल्याण्ड देशको १००० क्रोनरको नोट विश्वको उत्कृष्ट भएको थियो । यसैगरी, सन् २००६ मा कोमोरसको १००० फ्रेंकको नोट, सन् २००७ मा स्कटल्याण्डको ५० पाउण्डको नोट, सन्  २००८ मा समोआको २० तालाको नोट, सन् २००९ मा बरमूडाको २ डलरको नोट, सन् २०१० मा युगाण्डाको ५० हजार सिलिंग्सको नोट, सन् २०११ मा  कजाकिस्तानको १०००० टेंगेको नोट, सन् २०१२ मा कजाकिस्तानकै ५००० टेंगेको नोट, सन् २०१३ मा पनि कजाकिस्तानकै १००० टेंगेको नोट तथा सन् २०१४ मा त्रिनिदाद एण्ड टोबेगो देशको ५० डलरको नोट विश्वकै  उत्कृष्ट र सुन्दर घोषित भएको थियो ।