काठमाण्डौ । जलवायु परिवर्तन विश्वभर भइरहेको छ। जसको परिणामस्वरुप अहिले कतै बेमौसमी पानी परिरहेको त कतै हिउँ परिरहेको छ भने कतै चर्को गर्मी पनि हुने गरेको छ। 

जलवायु परिवर्तनकै कारण सन् २०५० सम्ममा भारतका महत्वपूर्ण सहर मुम्बई र कोलकाता डुबानमा पर्ने दाबी पनि गरिएको छ। तर, विश्वमा अझै पनि यस्ता धेरै सहर छन्, जहाँ कुनै समय मानिसको भीडभाड हुने गर्दथ्यो तर अहिले ती सहरहरु पानीमा डुबेका छन्। ती सहरहरुको अवशेष हेर्न पर्यटकले स्कुबा डाइभिङको सहारा लिनुपर्छ।

बाया (इटाली)

रोमवासीका लागि कुनै बेला पार्टी हब इटालीको बाया सहर यसको रमाइलो मौसम, तातो मुहान र पोखरी तथा असाधारण देखिने भवनहरुका लागि परिचित थियो। रोमन सम्राट जुलियस सिजर र निरो दुवैले यहाँ विलासी हालिडे भिलाहरु राख्थे। १३८ ईस्वीमा सम्राट हेड्रियनको पनि यही सहरमा मृत्यु भयो।

दुर्भाग्यवश ज्वालामुखी बिस्फोटका कारण यो प्रसिद्ध सहरका तातोपानीका मुहानहरु भत्किए र यो सहर डुब्न पुग्यो। 

यो सहर नेपल्सनजिकैको एउटा विशाल ज्वालामुखी, क्याम्पी फ्लेग्रेई (फेल्ग्रेन फिल्ड्स) को शीर्षमा बनाइएको थियो। एक भौगोलिक घटना र जसका कारण बायाको जमिन क्रमशः ४ देखि ६ मिटरसम्म डुबेर सहरको अधिकांश भाग जलमग्न बन्यो।

सन् २००२ देखि बायाको पानीमुनि क्षेत्रलाई स्थानीय प्रशासनले संरक्षित क्षेत्र घोषणा गरेको छ। यसको मतलब अब केबल इजाजतपत्र प्राप्त स्कुबा गोताखोरहरुले स्थानीय गाइडसँग पानीमुनि भग्नावशेषहरु अन्वेषण गर्न सक्छन्।

थोनिस हेराक्लिओन (इजिप्ट)

प्राचीन कथाहरुमा धेरै पटक उल्लेख गरिएको छ कि थोनिस हेराक्लियोन त्यो ठाउँ थियो जहाँ ग्रिक नायक हेराक्लिस (हर्कुलस) ले इजिप्टमा पहिलोपटक कदम राखेका थिए। यो पनि भनिन्छ कि ट्रोजन युद्धमा सामेल हुनुअघि इतिहासको सबैभन्दा प्रसिद्ध द्वन्द्वमध्ये एक राजा पेरिसले पनि आफ्नी प्रेमिका हेलेनसँग यो सहरको भ्रमण गरेका थिए।

सहरको नाम ‘थोनिस’ मूल रुपमा इजिप्टियन शब्द हो। जब कि यसलाई ग्रिक नायक हर्कुलसको सम्मानमा हेराक्लियन पनि भनिन्छ।

नील नदीको पश्चिमी मुखमा अवस्थित यो एक समृद्ध बन्दरगाह थियो। ६० वटा जहाज र ७०० भन्दा बढी लंकरहरु भेट्याउनु भनेको भूमध्यसागरबाट आउने सामानहरुसहरको नहरको नेटवर्कबाट गुज्रिएको प्रमाण हो।

यस जलमग्न सहरबाट बरामद गरिएको सबैभन्दा मनमोहक कलाकृतिहरुमध्ये एउटा हो ‘डिक्री अफ सास’। कालो ढुंगाबाट बनेको यो दुई मिटर अग्लो पहाडलाई स्टेले पनि भनिन्छ। यो प्रारम्भिक इसा पूर्व चौथौँ शताब्दी चित्रलिपिका कुँदिएको छ। जसले त्यो बेलाको इजिप्टियन कर प्रणालीको महत्वपूर्ण विवरणहरु दर्शाउँछ। यससँगै यसले थोनिस–हेराक्लियन सहर थियो भन्ने पनि पुष्टि गर्छ।

डर्वेन्ट (इंग्ल्यान्ड)

डर्बिसायरको डेर्वेन्ट गाउँलाई लेडीबोवर जलाशय बनाउनका लागि योजनापूर्वक जलमग्न गरिएको थियो। डर्बी, लिसेस्टर, नटिङ्घम र सेफिल्डजस्ता सहरहरु बीसौँ शताब्दीको मध्यमा विस्तार हुँदै गयो र तिनीहरुको बढ्दो जनसंख्यालाई थप पानी आपूर्तिको आवश्यकता थियो। यो आपूर्ति पूरा गर्न बाँध र जलाशय निर्माण आवश्यक थियो।

मूल रुपमा त्यहाँ दुईवटा जलाशयहरु हाउडेन र डेर्वेन्ट निर्माण गर्ने योजना थियो। तर, गाउँलाई यस योजनाबाट बाहिर राखिएको थियो। समय बित्दै जाँदा दुईवटा जलाशयमात्र अपुग हुने र तेस्रो जलाशय आवश्यक रहेको महसुस गरियो। 

यो जलाशय निर्माणको काम सन् १९३५ मा सुरु भएको थियो। सन् १९४५ सम्म डेर्वेन्ट गाउँ पूर्ण रुपमा जलमग्न भयो। 

गर्मीयाममा लेडीबोवर जलाशयको पानीको सतह यति कम हुन्छ कि डेर्वेन्ट गाउँका भग्नावशेषहरु देखिन्छन्। यही याममा मानिसहरु त्यहाँ घुमफिर गर्न बढी रुचाउँछन्। 

भिल्ला एपेक्युएन (अर्जेन्टिना)

लगभग २५ वर्षसम्म पानीमा डुबेपछि सन् २००९ देखि भिल्ला एपेक्युएनको लेकसाइड रिसोर्ट पुनः देखिन थालेको छ। 

सन् १९२० मा निर्मित एपेक्युएन ताल नामक रिसोर्टले त्यस्ता पर्यटकलाई आकर्षित गर्न थाल्यो, जो नुनिलो पानीमा नुहाउन चाहन्थे। त्यहाँको नु्निलो तालको पानीमा नुहाउँदा धेरै रोग निराकरण हुने जनविश्वास छ। 

यो पोखरीमा पानी आफैँ उर्मिन्छ र सुक्छ पनि। तर, सन् १९८० पछि धेरै वर्षसम्म भारी वर्षा भएसँगै पानीको सतह बढ्न थाल्यो। थप सुरक्षाका लागि आर्केड पर्खाल निर्माण गरिएको थियो। सन् १९८५ नोभेम्बर मा एउटा आँधीले ताल भरियो र पानी खस्न थाल्यो। जसका कारण पर्खाल भत्कियो र यो सहर पनि १० मिटर नुनिलो पानीभित्र दबियो। तर, सन् २००९ देखि त्यहाँको पानीको सतह घट्दै गएपछि फेरि भिला एपेक्युएन देखिन थालेको छ। 

पोर्ट रोयल (जमैका)

आजकल पोर्ट रोयल यस्तो गाउँ हो। जहाँ निद्रामा पनि माछा मार्न सकिन्छ। तर, सत्रौँ शताब्दीमा त्यहाँ रहेका समुद्री डाँकुहरुको बाक्लो जनसंख्याका कारणमात्रै यो चिनिन्थ्यो।

पोर्ट रोयल नयाँ संसारमा व्यापारको मुख्य केन्द्रका रुप द्रुत गतिमा विस्तार भयो। सन् १६६२ मा त्यहाँ ७४० जना बासिन्दा बसे पनि सन् १६९२ सम्ममा यो संख्या बढेर ६ हजार ५०० देखि १० हजारसम्म पुग्ने अनुमान गरिएको थियो। 

त्यहाँ मानिसहरु इँट्टा वा काठले बनेका घरहरुमा बस्थे। जुन प्रायः चार तलासम्म अग्लो हुन्थ्यो। सन् १६९२ जुन ७ त्यो दिन थियो, जब पोर्ट रोयल दिउँसो ठूलो भूकम्प गएको थियो र त्यसको लगत्तै सुनामी आयो।

अनुमानअनुसार सहरको दुई तिहाइ भूभाग पानीमा डुबेको छ। उक्त दिन करिब २ हजार मानिसको मृत्यु भएको र धेरै घाइते भएको अनुमान गरिएको छ। संरक्षित भग्नावशेषहरु र सयौँ डुबेका जहाजहरु हेर्न स्थानीय अधिकारीहरुको अनुमति लिएर स्कुबा डाइभिङ जान सम्भव छ। – बीबीसीबाट भावानुवादित