एजेन्सी । पुरुष जीवनशैलीसँग सम्बन्धित विश्वकै सबैभन्दा चर्चित म्यागजिन ‘प्ले ब्वाई’ बिक्री हुने भएको छ । 

सन् १९५३ बाट सुरु भएको यो म्यागजिनको बिक्री पछिल्लो समय निरन्तर घटिरहेको छ । कम्पनीले म्यागजिनलाई बिक्री गर्नैका लागि एक लगानी सल्लाहकार समेत नियुक्त गरिसकेको छ । वाल स्ट्रीट जर्नलमा छापिएको एक रिपोर्ट अनुसार कम्पनीको प्रवक्ताले भनेका छन् कि ‘प्ले ब्वाई’ म्यागजिन बिक्रीका लागि कम्पनीले मोएलिस एण्ड कम्पनीलाई बिक्री प्रवद्र्धक नियुक्त गरेको छ । बिक्री प्रवद्र्धकले ‘प्ले ब्वाई’ म्यागजिनको खरीदकर्ताका लागि विभिन्न अप्सनहरुको खोजी गरिरहेको छ । 

एक रिपोर्टका अनुसार ‘प्ले ब्वाई’ म्यागजिनको बिक्रीबाट करिब ५० करोड डलरसम्म रकम प्राप्त हुनसक्छ । आम रुपमा ‘प्ले ब्वाई’को आर्थिक अवस्थाको विषयमा हालसम्म खुलासा त गरिएको छैन, तर सन् २०११ मा गरिएको एक डिलपछि यो कम्पनी प्राइभेट भएको थियो र यसको शेयर मूल्य घटेको थियो । त्यसबेला कम्पनीको मूल्य करिब २०.७ करोड अमेरिकी डलर थियो । 

कम्पनीको फाउण्डर ह्यू हेफ्नरले आजको युगमा अनलाइन पोर्टलहरुको जगजगी चलेका कारण ‘प्ले ब्वाई’को प्रिन्ट संस्करणको बिक्री घटेको बताए । ‘प्ले ब्वाई’लाई नयाँ ढंगले अगाडि बढाउने विषयमा समेत छलफल भइरहेको उनको भनाई छ । गत वर्षको अक्टोबरमा ‘प्ले ब्वाई’ म्यागजिनले आफ्नो ट्रेडमार्क फोटो समेत हटाउने निर्णय गरेको थियो । यसपछि कम्पनीको सेल्समा अझ धेरैले गिरावट आयो र कम्पनी टाट पल्टने अवस्थामा पुग्यो । 

यही वर्ष कम्पनीले चर्चित ‘प्ले ब्वाई’ मेन्सनको पनि बिक्रीका लागि राखिएको घोषणा गरिएको थियो । यो बिक्रीबाट मात्र कम्पनीलाई २० करोड डलर प्राप्त हुने ठानिएको छ । ‘प्ले ब्वाईं’ मेन्सन लस एञ्जलको ब्रेवरी हिल्समा छ । यसको क्षेत्रफल करिब ६ एकडको छ । 

सन् १९५३ मा यो म्यागजिनको पहिलो अंक प्रकाशन भएको थियो । जसको ५३ हजारभन्दा बढी कपी बिक्री भएको थियो । त्यसपछि यो म्यागजिनलाई विश्वभरमै निकै धेरै मन पराउन थालिएको थियो । सन् १९७२ मा यसको बिक्री चरम रुपमा बढेको थियो । त्यो बेला यसको बिक्री ७० लाख कपी पुगेको थियो । सन् २०१५ मा चाहि यसको बिक्री ७० लाखबाट घटेर ८ लाखमा आइपुगेको थियो । यो बीचमा ‘प्ले ब्वाईं’ले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्ट्राग्राममा आफ्नो सामाग्री पोस्ट गर्ने सम्झौता समेत गरेको थियो । 

‘प्ले ब्वाई’को सुरुवात सिकागोमा सन् १९५३ बाट भएको थियो । ‘प्ले ब्वाई’लाई सुरु गर्नैका लागि कम्पनीका संस्थापक ह्यू हेफ्नरले आफ्ना आमाबाट १ हजार डलर ऋण लिएका थिए । हाल प्लेब्वाईमा रिजवी ट्रेवर्स मेनेजमेन्टको नियन्त्रण छ । यो कम्पनीको स्वामित्वमा दुई तिहाई शेयर छ भने हेफ्नरसँग एकतिहाई शेयर रहेको छ ।