काठमाण्डौ। नेपाली जनजीवनमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल मःम विश्वकै लोकप्रिय र स्वादिष्ट खान्कीका रुपमा सूचीकृत भएको छ। 

खाजाका रुपमा नेपालीहरुले अत्याधिक रुचाएको मःमलाई सीएनएनले विश्वकै स्वादिष्ट खानामा सूचीकृत गरेको हो। नेपालमा मःमको खपत अत्याधिक हुने गरेको छ। यसलाई हरेक वर्ग, उमेर र समुदायका मानिसहरुले उपभोग गर्ने गरेका छन्। 

नेपालका पाँचतारे होटलदेखि लिएर सडकका ठेलाहरुसम्म मःम पाइने गर्छ। नेपालका प्रायः प्रत्येक खाजाघर, रेस्टुराँ र होटेलमा मःम पाइन्छ। 

नेपाली मःमको पारखी नेपालीमात्रै नभएर विदेशी पर्यटकसमेत छन्। विदेशी पर्यटकको रोजाइमा समेत नेपाली मःम पर्ने गर्दछ। 

नेपाली मःम नेपालमा मात्रै नभएर नेपाली समुदाय भएका विश्वका अन्य देशहरुमा समेत चर्चित छ। 

मःमका विभिन्न परिकारहरु हन्छन्। बफ मःम, भेज मःम, पनिर मःम, चिकेन मःम, मटम मःम आदि। यीमध्ये धेरैजसोको रोजाइमा भने बफ मःम नै पर्ने गर्दछ। 

सीएनएनले नेपाल, तिब्बत, चीन र उत्तर भारतमा पाइने मःमसहित विश्वका अन्य देशहरुमा पाइने ३५ वटा स्वादिष्ट डम्पलिङको सूची तयार गरेको छ। अमेरिकालगायतका अन्य देशहरुमा मःमलाई डम्पलिङ भन्ने गरिन्छ। 

सीएनएनको सूचीमा इटली, चीन, टर्की, अमेरिका, ताइवान र युरोपलगायतका खान्कीहरुले स्थान बनाएका छन्।