काठमाण्डौ । विश्वमा मन्दीको छाँयामा अन्य देशको तुलनामा अमेरिका सबैभन्दा बढी चर्चामा छ। अब अमेरिकी अर्थतन्त्रमा मन्दीको जोखिमका बारेमा चलिरहेको बहसको बीचमा रेटिङ एजेन्सी फिच रेटिङ्सले ठूलो चेतावनी दिएको छ। 

फिचका अनुसार अमेरिकामा चरम मुद्रास्फीति र त्यसलाई नियन्त्रण गर्न अमेरिकी फेडरल रिजर्भले बढाएको ब्याजदरका कारण मुलुक तीव्रगतिमा मन्दीतर्फ अघि बढिरहेको छ।

फिचले आफ्नो प्रतिवेदनमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा मन्दीको जोखिम सन् १९९० को ढाँचाजस्तै देखिने अनुमान गरेको छ। चार दशककै उच्च विन्दुमा पुगेको मुद्रास्फीति नियन्त्रण गर्न फेड रिजर्भले एकपछि अर्को गर्दै ब्याजदर बढाइरहेको छ। 

रिपोर्टका अनुसार फेड रिजर्भको यो कदमले उपभोक्ता खर्चलाई यति हदसम्म घटाउन सक्छ कि यसले सन् २०२३ को दोस्रो त्रैमासिकमा मन्दी ल्याउन सक्छ।

सन् १९९० मा अमेरिकी अर्थतन्त्रमा ठूलो मन्दी आएको थियो। जुन करिब ८ महिनासम्म जारी रह्यो। यही मन्दीका कारण देशमा बेरोजगारी दरमा तीव्र वृद्धि भएको थियो। यदि यस्तै मन्दी फेरि एकपटक सामने आयो भने यो अमेरिकी अर्थतन्त्रका लागि ठूलो झट्का साबित हुन सक्छ। 

ग्लोबल रेटिङ एजेन्सी फिचले आफ्नो रिपोर्टमा अमेरिकामा सन् १९९० जस्तै मन्दी आउन सक्ने चेतावनी दिएको छ।

फिचले मार्चदेखि मेसम्ममा उच्च मुद्रास्फीति दर र अमेरिकी फेड रिजर्भको ब्याजदरमा निरन्तर वृद्धिले अमेरिकी अर्थतन्त्रलाई फेरि ठूलो मन्दीको सिकार बनाउन सक्ने आशंका गरेको छ। यस्तो आशंकाको अनुमान गर्दै फिचले अमेरिकाको जीडीपी वृद्धि अनुमान पनि घटाएको छ। यो वर्ष अमेरिकी अर्थतन्त्र ०.५ प्रतिशतमात्रै वृद्धि हुने बताइएको छ। तर, आगामी आर्थिक वर्षमा वृद्धिदर १.५ प्रतिशतसम्म रहन सक्नेछ।

फिचका अर्थशास्त्रीहरुले पनि प्रतिवेदनमा भनेका छन्, ‘हामीले अनुमान गरिरहेका अमेरिकी मन्दी एकदमै हल्का हुनेछ।’

हालै बैंक अफ अमेरिकाका अमेरिकी अर्थशास्त्र प्रमुख माइकल ग्यापेनले आगामी एक वर्षमा अमेरिकामा बेरोजगारी दर ५ देखि ५.५ प्रतिशत हुने अनुमान गरेका थिए। यो अनुमान थप चिन्ताजनक देखिन्छ किनकि फेडले अर्को वर्ष बेरोजगारी दर ४.४ प्रतिशतमा प्रक्षेपण गरेको छ। 

प्रतिवेदनका अनुसार अमेरिका आगामी वर्षको पहिलो आधा अर्थात जनवरी–जुनमा मन्दीमा पर्न सक्छ। यसो भयो भने देशमा हरेक महिना १ लाख ७५ हजार बेरोजगार हुन सक्छन्। –एजेन्सी