काठमाण्डौ । विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका आफ्नो इतिहासमा पहिलोपटक डिफल्ट हुने खतरा बढेको छ। 

अमेरिकाका अर्थमन्त्री जेनेट येलेनले कर्जाको सीमा नबढाएको खण्डमा जुन १ मा देश डिफल्ट हुन सक्ने चेतावनी दिएकी छन्। यदि यस्तो भएमा यसको गम्भीर परिणाम हुनेछ। 

ह्वाइट हाउसका अर्थशास्त्रीहरुले यसबाट देशमा ८३ लाख रोजगारी संकटमा पर्ने, सेयर बजार आधाले घट्ने, जीडीपी ६.१ प्रतिशतले घट्ने र बेरोजगारी दर ५ प्रतिशतले बढ्ने चेतावनी दिएका छन्। अमेरिकामा ब्याजदर सन् २००६ यताकै उच्च विन्दुमा पुगेको छ। बैंकिङ संकट गहिरिँदै गएको छ। ठूला ३ बैंक डुबिसकेका छन्। डलर कमजोर हुँदै गइरहेको छ। 

अमेरिकामा मन्दीको सम्भावना ६५ प्रतिशत छ। यदि अमेरिका डिफल्ट भयो भने मन्दीमा फस्ने निश्चित छ। यसको प्रभाव विश्वभर पर्नेछ। 

यसअघि मुडिज एनालिटिक्सले मार्चमा पनि यस्तै अनुमान गरेको थियो। मुडिजले लामो समयको डिफल्टको स्थितिले अमेरिकामा ७० लाखभन्दा बढी रोजगारी घट्न सक्ने जनाएको थियो। 

अमेरिकाले अहिलेसम्म कहिल्यै पनि डिफल्ट गरेको छैन। त्यसैले यसको प्रभाव कस्तो हुन्छ भन्न सकिन्न। 

मुडिज एनालिटिक्सका प्रमुख अर्थशास्त्री मार्क जान्डीका अनुसार यदि अमेरिका डिफल्ट भयो भने लाखौँ मानिसले आफ्नो रोजगारी गुमाउन सक्छन् र देश मन्दीको चपेटामा पर्न सक्छ। जसका कारण ७० लाखले रोजगारी गुमाउनुका साथै देश सन् २००८ जस्तै आर्थिक संकटमा फस्न सक्छ। 

सन् २०११ मा पनि अमेरिका डिफल्ट हुने स्थितिमा पुगेको थियो। त्यतिबेला अमेरिकी सरकारको परफेक्ट एएए क्रेडिट रेटिङलाई पहिलोपटक डाउनग्रेड गरिएको थियो। यसले अमेरिकी सेयर बजारमा ठूलो गिरावट ल्यायो। जुन २००८ को वित्तीय संकटपछिको सबैभन्दा खराब थियो। –एजेन्सी