काठमाण्डौ । भारतका दिग्गज सेयर लगानीकर्ता राकेश झुनझुनवाला विश्वको दोस्रो सफल लगानीकर्ता मानिएको छ। 

हालै सार्वजनिक एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। यद्यपि, राकेश झुनझुनवालाको १० महिनाअघि निधन भइसकेको छ। 

अध्ययन प्रतिवेदनका अनुसार ३७ वर्षको करिअरमा झुनझुनवालाले वार्षिक औसत ६५ प्रतिशत रिटर्नका साथ आफ्नो सम्पत्ति करिब ५० हजार करोड पुर्याएका थिए। उनले सन् १९८५ मा मात्र ५ हजारबाट लगानी सुरु गरेका थिए। उनको २०२२ अगस्ट १४ मा हृदयघातका कारण मृत्यु भएको थियो।

प्रतिवेदनअनुसार झुनझुनवालाको १९८५ देखि २०२२ अगस्त १४ सम्म औसत रिटर्न अमेरिकी लगानीकर्ता जिम सिमन्सभन्दा झिनो अन्तरले कम हो। अमेरिकी क्यापिटल मार्केट कम्पनी रेनेसान्स टेक्नोलोजीका सिमन्सलाई सन् १९८८ र २०१८ को बीचमा वार्षिक औसत ६६ प्रतिशत रिटर्नका विश्वकै सबैभन्दा सफल लगानीकर्ता मानिन्छ। झुनझुनवालाको रिटर्न योभन्दा १ प्रतिशत मात्र कम रहेको देखिएको छ। 

त्यसो त विश्वका अन्य दिग्गज लगानीकर्ता जर्ज सोरोस, स्टेनली ड्रकनमिलर र वारेन बफेटको वार्षिक औसत रिटर्न २० प्रतिशतमात्रै रहेको छ। 

प्रतिवेदनअनुसार लामो अवधिमा ३० प्रतिशत औसत वार्षिक रिटर्न पाउने लगानीकर्ता कमै भेटिएका छन्। अनुसन्धान विश्लेषकहरुको अनुमान छ कि झुनझुनवालाको सफलता सिमन्सको भन्दा ठूलो छ किनकि सिमन्सले ६६ प्रतिशत रिटर्न प्राप्त गर्न विभिन्न विषयमा सयौँ पीएचडी होल्डरहरुलाई रोजगारी दिएका थिए। उनीहरुको काम अत्याधिक अस्थिर स्टक र तुलनात्मक रुपमा स्थिर स्टकको प्यट्रान अध्ययन गर्नु रहेको थियो। झुनझुनवालाले त्यस्तो केही गरेका थिएनन्। उनको सानो टोली थियो।

स्टक एक्सचेन्जमा उपलब्ध जानकारीअनुसार राकेश झुनझुनवालाको पोर्टफोलियोमा ३२ कम्पनीमा सेयर थिए। जसमा अनन्त राज, टाटा मोटर्स, टाइटन, फेडरल बैंक, नजरा, स्टार हेल्थजस्ता कम्पनी समावेश थिए।

झुनझुनवालाले कम्पाउन्डिङको शक्तिलाई राम्ररी बुझेका थिए। उदाहरणका लागि उनले टाइटन कम्पनीको सेयर २००३ बाट किन्न थाले। त्यतिबेला यसको मूल्य भारु. ३.८७ थियो। २०२२ अगस्ट १२ मा यो कम्पनीको सेयरमूल्य भारु २ हजार ४७२ पुगेको थियो। झुनझुनवालाले यो कम्पनीको सेयर होल्ड गर्नुका साथै बर्सेनि लगानी बढाउँदै गएका थिए। –एजेन्सी