काठमाण्डौ । बोरिस जोनसनले अन्ततः बिहीबार बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। मन्त्रिमण्डलका थुप्रै मन्त्रीले राजीनामा दिएपछि उनले नैतिकताका आधारमा प्रधानमन्त्री पद छाड्ने घोषणा गरे। यद्यपि नयाँ प्रधानमन्त्री चयन नभएसम्म उनी पदमा रहिरहनेछन्। 

संसदबाहिर जोनसनको लोकप्रियता अर्थतन्त्रमा बढ्दो मुद्रास्फीति र व्यवस्थाबाट नराम्ररी प्रभावित भएको छ। दैनिक जीवनयापन महँगिनु र युरोपियन युनियन (ईयू)सँग व्यापार युद्ध चर्किन सम्भावनाले लाखौँ मानिस त्रसित छन्। 

बेलायतको सेयर बजारमा जोनसनले राजीनामा दिने पक्कापक्की भएसँगै उछाल आएको छ। पाउन्ड स्टर्लिङको भाउ पनि ०.७५ प्रतिशतले बढेको छ। जुन २ वर्षयताकै न्यून विन्दुमा माथि उक्लिएको हो। 

ब्रोकर एक्सटीबीका मुख्य बजार विश्लेषक वालिद कौदमनी भने बेलायतको अर्थव्यवस्था आशातीत प्रदर्शन गर्न नसक्दा पाउन्ड स्ट्रेलिङ कमजोर बनेको बताउँछन्। ‘यसले अर्थतन्त्र मन्दीतर्फ उन्मुख हुँदै गएको प्रस्ट हुन्छ’, उनले चेतावनी दिँदै भने। 

अब बेलायतको कन्जर्भेसन पार्टी र देशको नेतृत्वमा जोकोही चुनिए पनि उसका लागि असाधारणीय आर्थिक र वित्तीय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। 

कोरोना महामारीबाट प्रभावित विश्वका हरेक ठूला अर्थतन्त्र गत फ्रेब्रुअरीबाट सुरु भएको रुस–युक्रेन युद्धबाट झनै प्रभावित बनेका छन्। ऊर्जा संकटसँगै खाद्यान्न आपूर्ति शृंखला अवरुद्ध बनेका छन्। 

यिनै संकटबीच बेलायतको अर्थतन्त्र हालसम्मकै दयनीय अवस्थामा पुगेको छ। मेमा मुद्रास्फीति ९.१ प्रतिशत पुगेको छ। जुन ४० वर्षयताकै उच्च र जी–७ राष्ट्रहरुमध्येकै सबैभन्दा बढी हो। लगातार रुपमा ब्याजदरमा वृद्धि गरिए पनि यो वर्ष बेलायतको मुद्रास्फीति ११ प्रतिशतसम्म पुग्नसक्ने अनुमान गरिएको छ। 

ब्रेक्जिटमा जोन्सनको हस्ताक्षरसँगै बेलायतमा श्रमिकको अभाव बढ्नका साथै उद्योगधन्दा र व्यापार सञ्चालनको खर्च बढेको छ। आयातको लागत उच्चस्तरमा पुगेको छ । जब कि पाउन्ड स्टेर्लिङको मूल्य यो वर्ष निकै तल झरेको छ। 

खाद्यान्न र इन्धनको मूल्यवृद्धिले दशकयताकै सबैभन्दा खराब जीवनयापन भएको छ। जसका कारण न्यून आय भएका मानिसहरु संकटमा परेका छन्। अभियान्ताहरुले सरकारको सहयोग मागिरहेका छन्। 

यसअघि जोनसन सरकारले ऊर्जा खपतको भुक्तानी तिर्न संघर्षरत लाखौँ मानिसलाई प्रतिपरिवार ४०० पाउन्ड दिने वाचा गरेको थियो। यसका कारण गत महिना तेल र ग्यास कम्पनीको नाफामा झन्डै ५ बिलियन पाउन्ड कर लगाइएको थियो। 

बैंक अफ इंग्ल्यान्डका अनुसार अबको जाडोयाममा वार्षिक औसत ग्राहस्थ ऊर्जा खपतको बिल ५० प्रतिशत बढेर ३ हजार पाउन्ड पुग्न सक्छ। जहाँ ग्राहकका लागि तोकिएको अधिकतम शुल्कमा आपूर्तिकर्ताले परिमार्जन गर्न सक्छन्। नियामकले यसअघि नै अधिकतम शुल्कको सीमा ५४ प्रतिशतले बढाइसकेको छ। 

बेलायती नागरिकको जीवनस्तर पछिल्लो समय खस्किएको छ। सन् २००८ को वित्तीय संकटको अवस्थाभन्दा अहिले ज्याला पनि घटेको छ। 

रेजोल्युसन फाउन्डेसनका प्रमुख अर्थशास्त्री एडम कार्लेटले भने, ‘आयस्तरमा खस्किँदा बेलायतका गरिब घरपरिवारको जीवनस्तर २० वर्षयताकै खराब अवस्थामा पुगेको छ। आगामी दशकमा जीवनस्तर उस्किने सम्भावना देखिँदैन।’ –एजेन्सी