न्युयोर्क । अमेरिकादेखि युरोपसम्मका केन्द्रीय बैंकहले ब्याजदरमा गरेको उच्च वृद्धिका कारण विश्वभरका सेयर बजार प्यानिक देखिएको छ। ‘मै हुँ’ भन्ने ठूला लगानीकर्तालाई पनि यो विषम परिस्थितिमा आफ्नो पोर्टफोलियो मिलाउन सकस भइरहेको छ। तर, सेयर बजारका बादशाह मानिने वारेन बफेटलाई भने यहीबेला कुनै तनाव छैन। 

सफल बजार तथा कारोबार रणनीतिकै कारण बफेट विश्वभरका लगानीकर्ता दुःखी भइरहेको बेलासमेत निष्फिक्री देखिएका छन्। अरुको पोर्टफोलियोमा ठूलठूला क्षति भइरहँदा उनले लगानी गरेका कम्पनीको सेयरमूल्य भने उत्साहजनक ढंगले बढेको छ।

सीएनएनका अनुसार बफेटको वर्कसायर हाथ्वेको सेयरमूल्य सन् २०२२ मा करिब ५.५ प्रतिशतले बढिसकेको छ। तर, यो कम्पनी सूचीकृत भएको बजार इन्डेक्स एस एन्ड पी ५०० मा भने १५ प्रतिशतभन्दा बढीको गिरावट आइसकेको छ।

बफेटको वर्कसायरको तेल कम्पनी शेभरनमा ठूलो हिस्सेदारी छ। जुन लगभग ५० प्रतिशत लाभको साथ यस वर्ष डाउमा सबैभन्दा राम्रो स्टक हो। वर्कसायरसँग ओसिडेन्टल पेट्रोलियमको ठूलो हिस्साको पनि स्वामित्व छ, जसले दोब्बरभन्दा धेरै बढेको छ। यो स्टक एस एन्ड पीमा सूचीकृतमध्ये सबैभन्दा राम्रो मूल्य बढेको कम्पनीको रुपमा स्थापित भएको छ।

कच्चा तेलको मूल्य बढेका कारण तेलको स्टक बढेको छ।

बफेटको ठूलो उपभोक्ता स्टकहरुप्रतिको लगावले पनि २०२२ मा राम्रो सेवा दिएको छ। वर्कसायरसँग कोकाकोला र क्राफ्ट हेन्जमा ठूलो हिस्सेदारी छ, जुन यस वर्ष लगभग १० प्रतिशत बढेको छ।

यिनै कारण वर्कसायर हाथ्वेको सञ्चालन मुनाफा जारी वित्त वर्षको पहिलो ९ महिनामा २० प्रतिशतले बढेर लगभग २४.१ बिलियन डलर पुगेको छ।

वफेट आगामी अगस्टमा ९३ वर्षको उमेरमा प्रवेश गर्दैछन्।