काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो टेक कम्पनीमध्ये एउटा गुगलको आज बिहीबार थुप्रै सेवाहरु डाउन भएका छन्। 

आज सबैभन्दा धेरै समस्या जीमेल, गुगल ड्राइभ र युट्युबमा देखिएको छ। यसका कारण प्रयोगकर्ताहरुलाई निकै समस्या भएको छ। 

जीमेल र गुगल ड्राइभमा फाइल अट्याच नै भइरहेको छैन। युट्युबमा भने भिडियो अपलोड गर्न समस्या भइरहेको छ।

अहिले गुगलका ६ थरीका सेवामा गुनासाहरु आएका छन्। जीमेल, गुगल ड्राइभ, युट्युबका साथै गुगल मिट, गुगल भ्वाइस र गुगल डक्समा समस्या देखिएको हो। समस्याहरु डेक्सटपका साथै एपहरुमा पनि देखिएका छन्। 

यी समस्याका बारेमा ट्विटरमा पछिल्लो १ घन्टामा हजारौँ प्रयोगकर्ताहरुले गुनासो पोखेका छन्। यी समस्या समाधानका लागि गुगलले कोसिस सुरु गरेको छ। 

इन्टरनेटमा नजर राख्ने डाउनडिटेक्टर वेबसाइटका अनुसार जीमेलमा आज बिहान ९ बजेदेखि समस्या आएको हो। जसमा ६२ प्रतिशत फाइल अट्याचमेन्ट, २७ प्रतिशत लगइन र १० प्रतिशत म्यासेज रिसिभमा देखिएका समस्या छन्। 

युट्युबमा भने हिजोबाट समस्या देखिन थालेको छ। यसमा ५१ प्रतिशत भिडियो अपलोडिङ, ४२ प्रतिशत भिडियो देखिने र २४ प्रतिशत वेबसाइट नै नखुल्ने समस्या रहेको छ। गुगलमा सबैभन्दा बढी ८४ प्रतिशत लगइनको समस्या देखिएको छ। गुगल ड्राइभमा ७६ प्रतिशत समस्या फाइल सिंक नै नहुने रहेको छ। 

विश्वभर जीमेलका २०० करोड युजर छन्। – एजेन्सी