काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वभर तीव्रगतिमा फैलिरहेको भन्दै सर्तकर्ता अपनाउने चेतावनी दिएको छ। 

विश्वका ७७ वटा देशमा ओमिक्रोन देखिसकिएको डब्ल्यूएचओले जनाएको छ। तीव्रगतिमा फैलिरहेको ओमिक्रोनलाई कतिपय देशहरुले हल्का रुपमा लिएको भन्दै डब्ल्यएचओले चिन्ता व्यक्त गरेको छ। ‘नयाँ भेरिएन्ट हल्का रुपमा लिइएको छ, संक्रमितहरु पनि गम्भीर अवस्था देखिएका छैनन्’, डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एडनोम गेब्रियससले भने, ‘तर तीव्रगतिमा फैलिरहेकोले यसले फेरि विश्वको कमजोर स्वास्थ्य प्रणालीहरुमा प्रभाव पार्न सक्छ।’

ओमिक्रोन पहिलोपटक दक्षिण अफ्रिकामा गत नोभेम्बरमा देखिएको थियो। त्यसपछि कतिपय देशहरुले छिमेकी मुलुकहरुबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छिन्। यद्यपि यो नयाँ भेरिएन्टको फैलावट रोक्न भने विफल साबित भएको छ। – एजेन्सी