काठमाण्डौ । विश्व बैंकले विश्वमा आर्थिक मन्दीको खतरा बढेको जनाएको छ। 

विश्व बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो औँल्याएको हो। यो वर्षको सुरुआतदेखि नै विश्वका अर्थतन्त्रहरुको अनुमानित आर्थिक वृद्धिदरमा गिरावट आइरहेकोले सन् २०२३ मा विश्वव्यापी मन्दीको अवस्था आउने खतरा बढेको प्रतिवेदनमा उल्लेख छ। 

विश्वव्यापी रुपमा तीव्र रुपमा बढिरहेको मुद्रास्फीति र त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले लिएको कसिलो नीति तथा ब्याजदरमा बढोत्तरीले विश्व मन्दीको निकट पुगेको प्रतिवेदनमा जनाइएको छ। ‘अमेरिका, चीन र युरोपेली मुलुकहरुको आर्थिक वृद्धिदरमा भइरहेको तीव्र गिरावटले मन्दीको प्रबल सम्भावना देखिएको छ’, प्रतिवेदनमा भनिएको छ। 

विश्वका अधिकांश मुलुकका केन्द्रीय बैंकहरुले मुद्रास्फीति नियन्त्रण नीतिगत ब्याजदर बढाएका छन् । ‘चर्को ब्याजदरले जोखिम पनि बढाउने भएकाले केन्द्रीय बैंकहरु अझै चनाखो हुन जरुरी छ’, प्रतिवेदनमा सुझाव दिइएको छ। 

मुद्रास्फीति नियन्त्रणमा राख्न केन्द्रीय बैंकहरुले गरेको प्रयास सार्थक नभएमा वित्तीय संकट बढ्ने र सन् २०२३ मा विश्वव्यापी आर्थिक मन्दी निम्तिने प्रतिवेदनमा उल्लेख छ। 

ठूला अर्थतन्त्रमा मन्दी देखिएकोमा त्यसको प्रत्यक्ष प्रभाव विकासोन्मुख मुलुकहरुमा पर्ने प्रतिवेदनमा ठहर गरिएको छ। ‘९० प्रतिशत सम्पन्न मुलुक र ८० प्रतिशत विकासोन्मुख मुलुकको आर्थिक वृद्धि प्रक्षेपणमा तीव्र गिरावट आएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘अझ सम्पन्न मुलुकहरुको वृद्धदरमा ठूलो गिरावट आएको छ।’

सन् २०२२ को जनवरीमा विश्वव्यापी आर्थिक वृद्धि यो वर्षका लागि ४.१ प्रतिशत र सन् २०२३ मा ३.३ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो। तर, गत अगस्टमा गरिएको पूर्वानुमानमा सन् २०२२ मा २.८ प्रतिशत मात्र र २०२३ मा २.३ प्रतिशतमात्र रहने आँकलन छ।