काठमाण्डौ । महँगीको कहर नेपालमा मात्र नभएर विश्वभरका देशहरुमा देखिएको छ। 

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिनाको तथ्यांकअनुसार नेपालमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ। जुन विश्वका केही ठूला अर्थतन्त्रहरुको तुलनामा कम हो। 

वर्ल्ड अफ स्ट्याटिस्टिक्सले उपलब्ध गराएको वार्षिक मुद्रास्फीति तथ्यांकलाई हेर्दा विश्वमा मुद्रास्फीतिबाट सबैभन्दा बढी प्रभावित टर्की र अर्जेन्टिना छन्। जहाँ वार्षिक मुद्रास्फीति दर ८३ प्रतिशत नाघेको छ।

टर्की उच्च मुद्रास्फीतिको सन्दर्भमा शीर्ष स्थानमा छ। त्यहाँ मुद्रास्फीति ८३.४ प्रतिशत पुगेको छ। 

त्यसपछि दोस्रो नम्बरमा अर्जेन्टिना छ। यो देशमा वार्षिक मुद्रास्फीति दर ८३ प्रतिशतको स्तरमा पुगेको छ।

मुद्रास्फीतिको हिसाबले टर्की र अर्जेन्टिनापछि नेदरल्यान्ड १४.५ प्रतिशत, रुस १३.७ प्रतिशत, इटाली ११.९ प्रतिशत र जर्मनी १०.४ प्रतिशत रहेको छ। बेलायतमा पनि मुद्रास्फीति १०.१ प्रतिशतको रेकर्डस्तरमा छ। 

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा मुद्रास्फीति वार्षिक आधारमा ८.२ प्रतिशतको स्तरमा पुगेको छ।

दक्षिण अफ्रिकामा मुद्रास्फीति दर वार्षिक आधारमा ७.५ प्रतिशतले बढेको छ। भारतको वार्षिक मुद्रास्फीति दर ७.४ प्रतिशत रहेको छ। 

त्यस्तै अस्ट्रेलिया ७.३ प्रतिशत, ब्राजिल ७.१ प्रतिशत, क्यानडा ६.९ प्रतिशत, फ्रान्स ६.२ प्रतिशत, इन्डोनेसिया ५.९ प्रतिशत र दक्षिण कोरिया ५.६ प्रतिशत रहेको छ।

वार्षिक आधारमा मुद्रास्फीति दरमा थोरै वृद्धि भएका देशहरुमा चीन, जापान र साउदी पर्छन्। साउदीमा वार्षिक मुद्रास्फीति दर ३.१ प्रतिशत रहेको छ भने जापानमा ३ प्रतिशत रहेको छ। मुद्रास्फीति चीनमा सबैभन्दा न्यून गतिमा बढेको छ र त्यहाँ यो अंक २.८ प्रतिशत रहेको छ। –एजेन्सी