काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वमा देखिएको आर्थिक संकटबीच नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको दाबी गरेका छन्।

पाकिस्तानको इस्लामाबादमा आयोजित ४३ औँ सार्क फाइनान्स गभनर्स मिटिङ एन्ड सिम्पोजिममा सहभागी हुँदै गभर्नर अधिकारीले यस्तो दाबी गरेका हुन्। यो कार्यक्रम वैशाख १९ गतेदेखि २० गतेसम्म चलेको थियो। 

कार्यक्रमको पहिलो दिन गभर्नर अधिकारीले विश्व अर्थ व्यवस्थामा उत्पन्न असहजताले निम्त्याएको चुनौतीका बाबजुद नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको उल्लेख गर्दै मुलुकको आगामी आर्थिक परिदृश्यबारे चर्चा गरे। उनले नेपालको वित्तीय क्षेत्र सबल रहेको र पछिल्लो समयमा तरलता तथा ब्याजदरमा देखिएको असहजता विस्तारै कम हुँदै गएको बताए। 

बैठकमा माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरहरुले कोभिड संकटका साथै रुस–युक्रेन युद्धबाट सिर्जित भू–राजनीतिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा देखिएको चुनौती तथा त्यसको समाधानका लागि अवलम्वन गरिएका उपाय र आगामी आर्थिक परिदृश्यका सन्दर्भमा चर्चा गरेका थिए। 

बैठकमा सार्क क्षेत्रका केन्द्रीय बैंकहरुको सहकार्यमा भइरहेको प्रगति तथा आगामी दिनमा हुनुपर्ने सहकार्यलगायतका अजेन्डामा छलफल भएको थियो। 

दोस्रो सत्रमा राष्ट्र बैंकका उपनिर्देशक सिद्धराज भट्टले नेपाल राष्ट्र बैंकको नेतृत्वमा सम्पन्न ‘प्रस्पेक्ट्स अफ सेन्ट्रल बैंक डिजिटल करेन्सी इन दि सार्क रिजन’ विषयक अध्ययनको नतिजा प्रस्तुत गरेका थिए।

सोही अवसरमा स्टेट बैंक अफ पाकिस्तानका निर्देशक डा एम. फारुक आबेले उक्त बैंकको नेतृत्वमा सम्पन्न ‘दि युज अफ अनकन्भेन्सनल पोलिसी इन्स्ट्रुमेन्ट्स बाई साउथ एसिया सेन्ट्रल बैंक्स’ विषयक अध्ययनको नतिजा प्रस्तुत गरेका थिए। 

कार्यक्रमको दोस्रो दिन आयोजना गरिएको ‘क्लाइमेट चेन्ज एन्ड ग्रीन फायनान्सिङः इनिसिएटिभ्स एन्ड आउटलुक इन साउथ एसिया’ विषयक सिम्पोजिममा बैंकका निर्देशक नारायणप्रसाद पोख्रेलले ‘चेन्ज एन्ड ग्री फाइनान्सिङ इन नेपाल’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। 

उक्त बैठकमा अन्य सार्क मुलुकका प्रतिनिधिले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। बैठकमा सहभागी भई गभर्नर अधिकारी वैशाख २१ गते स्वदेश फर्किएका छन्।