काठमाण्डौ । आज मे ३१ । विश्व सूर्तीजन्य पदार्थरहित दिवस। 

अहिले विश्व नै कोरोना महामारीबाट प्रभावित कोरोना संक्रमणले विशेषगरी फोक्सोमा आक्रमण गर्छ। धुम्रपानले हाम्रो फोक्सो कमजोर पारेको हुन्छ। यस्तो धुम्रपानले गर्ने व्यक्ति कोरोना संक्रमित भएमा गम्भीर लक्षणहरु देखिने र जटिलताहरु हुन सक्छ। 

सूर्तीजन्य पदार्थ सेवाबाट हुने विभिन्न रोगबाट बर्सेनि विश्वमा थुप्रै मानिसको मृत्यु हुने गरेको छ। नेपालमा पनि बर्सेनि हजारौँ मानिसको यही कारणबाट ज्यान जाने गरेको छ।

त्यसैले यसलाई नियन्त्रण गर्न सरकारले सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ ल्याएको छ। यो ऐनमा सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि विभिन्न दण्डजरिवानाको व्यवस्था पनि गरिएको छ।

यो ऐनअनुसार यदि कसैले सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेको छ भने उसलाई तत्काल १०० रुपैयाँ जरिवाना वा सार्वजनिक स्थल परिसरबाट निष्कासन वा दुवै हुने व्यवस्था गरिएको छ।

त्यस्तै कुनै पनि सञ्जार माध्यमबाट सूर्तीजन्य पदार्थको विज्ञापन कार्यक्रम, समाचार, सूचना सम्प्रेषण तथा प्रायोजन गरिएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ।

यसैगरी १८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सूर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न, गराउन वा निःशुल्क उपलब्ध गराउन पनि यो ऐनले वर्जित गरेको छ। यस्ता क्रियाकलाप भएको पाइएमा १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।

सूर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गरेमा तथा फुटक रुपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्रीवितरण गरेमा वा निःशुल्क रुपमा सूर्तीजन्य पदार्थ वितरण तथा उपहार दिएमा पनि १० हजार रुपैयाँसम्मको जरिवाना तिर्नुपर्ने व्यवस्था यो ऐनमा गरिएको छ। 

यो ऐनअनुसार कुनै पनि कार्यालय र सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन निषेधको सूचना टाँस गर्नुपर्ने हुन्छ। त्यसो नगरेको पाइएमा ५ हजार रुपैयाँ दण्डको व्यवस्था गरिएको छ।

त्यस्तै सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने हुन्छ। यदि इजाजतपत्र नलिई बिक्रीवितरण गरेको पाइएमा १० हजार रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था ऐनमा गरिएको छ। 

अहिलेको यो महामारीमा धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग नगर्न र नगराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।