काठमाण्डौ । विश्व अर्थतन्त्रमा मन्दीको कालो बादल मडारिरहेको छ। अमेरिका र युरोपमा बैंकिङ संकटले मन्दी आउने डर झनै बढाएको छ। 

यही बेला विश्व बैंकले सन् २०३० सम्ममा विश्व अर्थतन्त्रको गति तीन दशकयताकै न्यून हुन सक्ने चेतावनी दिएको छ। विश्व बैंकले आफ्नो प्रतिवेदनमा उत्पादकत्व र श्रम आपूर्ति प्रवर्द्धन, लगानी प्रवरद्ध्नसँगै सेवा क्षेत्रको क्षमतालाई राम्रोसँग प्रयोग गर्नुपर्ने जनाएको छ। प्रतिवेदनमा कोभिड–१९ र रुस–युक्रेनपछिको सम्भावित उत्पादन वृद्धिदरको मूल्यांकन गरिएको छ।

विश्व बैंकले आफ्नो प्रतिवेदनमा विगत तीन दशकमा विकास र समृद्धिलाई प्रवर्द्धन गर्ने प्रायः सबै आर्थिक शक्ति कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेको छ। यस गिरावटका कारण २०२२–२०३० बीचको औसत विश्वव्यापी सम्भावित जीडीपी वृद्धिमा कमी आउने सम्भावना छ।

यो प्रवृत्ति विकसित अर्थतन्त्रमा मात्र सीमित रहने छैन। विकसित देशहरुमा पनि वृद्धि सुस्त हुने अपेक्षा गरिएको छ। बाँकी समयमा यी देशको वार्षिक वृद्धिदर ४ प्रतिशत हुनसक्छ। यदि विश्वव्यापी संकट आयो भने स्थिति अझ खराब हुन सक्छ।

प्रतिवेदनमा भनिएको छ, ‘हामीले जुन मन्दीको कुरा गरिरहेका छौँ यदि अर्को विश्वव्यापी वित्तीय संकट देखा पर्यो भने तीव्र हुन सक्छ। विशेषगरी यदि त्यो संकट विश्वव्यापी मन्दीको साथमा छ भने यो मन्दीले वृद्धिको सम्भावनालाई असर गर्न सक्छ।’

विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले यो विश्व अर्थतन्त्रका लागि ‘लस्ट डिकेड’ साबित हुनसक्ने चेतावनी दिएका छन्। 

अमेरिका र युरोपको बैंकिङ संकटले विश्वभरका बजारलाई तरंगित बनाएको छ। अमेरिकामा दुईवटा बैंकमा डुबेर बन्द भएका छन् भने यो संकटको छाँया अन्य धेरै बैंकमा पनि परेको देखिन्छ।

सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक डुबिएपछि अमेरिकाको बैंकिङ संकटले थप धेरै बैंकलाई आफ्नो चपेटामा लिन सक्ने आशंका गरिएको छ। युरोपको क्रेडिट सुइस बैंक संकटमा फस्यो र बिक्री भयो। युनियन बैंक अफ स्विट्जरल्यान्ड (यूएसबी) ले वित्तीय संकटको सामना गरिरहेको स्विस बैंक क्रेडिट सुइस प्राप्त गर्दैछ। 

उता डुबेको सिलिकन भ्याली बैंकलाई संकटबाट जोगाउन फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) सहमत भएको छ। एफडीआईसीले नर्थ क्यारोलिनास्थित फर्स्ट सिटिजन बैंकले सिलिकन भ्याली बैंक खरिद गर्न चासो देखाएको जनाएको छ। 

ब्लुमबर्गको रिपोर्ट अनुसार फर्स्ट सिटिजन्स बैंकले एफडीआईसीबाट सिलिकन भ्याली बैंक किन्न सम्झौताको एक भागका रूपमा सिलिकन भ्याली बैंकको निक्षेप र ऋण पनि किन्न गइरहेको छ। –एजेन्सी