काठमाण्डौ । विश्व वातावरण दिवसको अवसर पारेर मुक्तिनाथ फाउन्डेसनले काठमाण्डा जिल्लाको टोखा नगरपालिका–१ मा निर्माणाधीन शान्तिपार्कमा एभोकाडो फलफूलको बिरुवा वृक्षरोपण गरेको छ।

हरेक वर्ष जुन ५ को दिन मनाइने विश्व वातावरण दिवसमा यस वर्षको नारा ‘बिट प्लास्टिक पलुसन’ रहेको छ। टोखा नगरपालिका र मुक्तिनाथ फाउन्डेशनको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल र रोयल बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा सञ्चालन भएको थियो।

कार्यक्रमा टोखा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा नं १ का वडा अध्यक्षलगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति थियो। त्यस्तै मुक्तिनाथ फाउन्डेसनका अध्यक्ष भरतराज ढकाल, फाउन्डेसनका संचालक, मुक्तिनाथ समूह र रोयल सहकारीका अध्यक्ष, सञ्चालन, प्रमुख कार्यकारी अधिकृतलगायत उल्ल्ेख्य रुपमा कर्मचारीहरुको उपस्थिति थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले नगरलाई हरियालि बनाउँदै स्वच्छ र सफा नगर बनाउने दीर्घकालीन योजना रहेको बताए। उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि बताए। 

यसका साथै मुक्तिनाथ समूहलाई फोहोर व्यवस्थापन र अन्य साझा कार्यक्रममा पनि सहकार्य गर्न पहल गर्ने उनले बताए। 

कार्यक्रममा मुक्तिनाथ फाउन्डेशनका अध्यक्ष ढकालले वातावरण संरक्षण र प्रवर्द्धनसम्बन्धी अभियानमा यही २० गते बागमती सफाइ महाअभियानमा सहभागी हुँदै सुरु गरेको र आगामी ५ वर्षमा फाउन्डेसनको अगुवाइमा तथा मुक्तिनाथ समूहसहित विभिन्न सरकारी र गैरसरकारी निकायको सहकार्यमा कम्तीमा १० लाखभन्दा बढी फलफूल तथा काष्ठजन्य बिरुवाहरुको रोपण गर्ने लक्ष्य राखेको बताए। यसले वातावरण संरक्षणका साथै खाली रहेका जग्गाको सदुपयोग गर्दै कृषक र स्थानीय बासिन्दालाई विभिन्न आम्दानीको स्रोत उपलब्ध हुने उनले उल्लेख गरे।