काठमाण्डौ । तरलता संकट, अत्यासलाग्दो गरी बिग्रिएको अर्थतन्त्रको बाह्य क्षेत्र लगायतले देशभित्र व्यवसायिक वातावरण बिग्रिदा पनि सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले भने नाफा बढाएको छ । 

बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो । 

खूद नाफा मात्र नभई बैंकले केही महत्वपूर्ण सूचकहरुमा समेत विषम परिस्थितिमै पनि प्रगति गरेको देखिएको छ । 

बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ५८ करोड ९६ लाख बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा २.८७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको खूद नाफा १ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ८६ करोड ६७ लाख रुपैयाँ रहेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ९७ करोड रुपैयाँमा सीमित बैंकको संचालन मुनाफा समेत बढेर यो वर्ष २ अर्ब १९ करोड माथि पुगेको छ । 
बैंक नेतृत्वले व्यवसाय वृद्धिमा विशेष ध्यान दिएका कारण खूद ब्याज आम्दानीमा करिब ४५ प्रतिशतको फड्को मारेको देखिएको छ । अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ५४ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ३ अर्ब ६८ करोड रुपैयाँभन्दा माथि पुगेको छ । 

समीक्षा अवधिमा बैंकले निक्षेप परिचालन र कर्जा विस्तारमा समेत प्रगति गरेको छ । 

अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा कर्जातर्फ २०.०४ प्रतिशत र निक्षेपतर्फ १३.७८ प्रतिशतको प्रगति गरेको देखिएको छ । 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ४४ अर्ब ८६ करोड बढी निक्षेप संकलन गरी १ खर्ब ३२ अर्ब १७ करोड बढी कर्जा परिचालन गरेको छ । जब कि अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब ४० अर्ब ६३ करोड बढी निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब ९१ करोड बढी कर्जा परिचालन गरेको थियो । 
समीक्षा अवधिका लागि बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १४.९३ रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा इपीएस २०.७२ रुपैयाँ रहेको थियो । 

कोभिड प्रभावका कारण धेरै बैंकका लोनहरु नउठेर खराब कर्जाको थुप्रो लागेकै समयमा सिटिजन्स बैंकले भने खराब कर्जाको अनुपातमा सुधार गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १.८३ प्रतिशत रहेको यस्तो अनुपात घटेर समीक्षा अवधिमा १.७२ प्रतिशत कायम भएको छ । 

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ९०.६९ प्रतिशत, बेस रेट ८.८१ प्रतिशत, मूल्य आम्दानी अनुपात १७.३० गुणा, प्रतिसेयर नेटवर्थ रु. १४०.१५, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२९६.४१ रुपैयाँ र तरलताको अनुपात २०.४१ प्रतिशत कायम भएको छ । 

बैंकको तेश्रो त्रैमाससम्मको प्रगति अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुन सूचकमा कस्तो देखियो ? हेरौं टेवल: