– अर्जुन तिमिल्सिना

काठमाण्डौ । लामो समयसम्म बढेको सेयर बजार अघिल्लो सातादेखि ओरालो लागिरहेको छ। लगभग ३२०० को विन्दुमा पुगेपछि बजारमा लगातार करेक्सन आइरहेको छ। 

प्राविधिक रुपमा पनि ३२०० को विन्दुमा बजारले प्रतिरोध सामना गर्ने देखिएको विश्लेषकहरुले बताउँदै आएका थिए। बजार निरन्तर बढेको–बढ्यै गर्दैन र घटेको–घट्यै पनि गर्दैन। किनकि बढेपछि घट्ने र घटेपछि बढ्ने बजारको सुन्दरता नै हो। 

लगातार घट्न थालेपछि लगानीकर्ताहरुमा बजारको भविष्यलाई लिएर विभिन्न जिज्ञासा उठ्न थालेका छन्। यसै विषयमा हामीले आज सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालसँगै बजारको पछिल्लो अवस्थाबारे जिज्ञाशा राखेका छौँ। 

प्राविधिक रुपमा अहिले सेयर बजारको अवस्था कस्तो छ ? 

– प्राविधिक रुपमा हेर्दा बजारमा अझै केही करेक्सन हुन सक्ने देखिन्छ। हालका लागि २८७० को विन्दुमा बलियो टेवा देखिएको छ। यदि त्यहाँबाट माथि फर्किन्छ भने बजार ३१५० को विन्दुसम्म पुग्न सक्छ। यदि बजार १०–११ प्रतिशत घटेर फर्किन्छ भने बजार माथि जान पनि सक्छ। यदि त्यहाँभन्दा पनि तल आउँछ भने लामो बियरिसमा पनि बीचमै बाउन्सब्याक हुँदै जान सक्छ। यो सर्पोट भत्कियो भने बजार लगभग २८०० को विन्दुसम्म आउन सक्छ। त्यसो भएमा एक–डेढ महिना करेक्सन तथा साइडवेज हुन पनि सक्छ। 

अहिलेसम्म बजार बुलिस नै हो ?

– ट्रेन्ड बुलिस तथा बियारिसभन्दा पनि दीर्घकालीन रुपमा बजार बुलिस नै हो। तर, ३–४ महिनाका लागि करेक्सन हुन सक्छ। त्यसपछि बजार बुल नै हो। किनकि बजार अझै पनि २ वर्ष बुलिस नै रहन्छ। अहिले जसरी मानिसहरुले भनेका छन् ‘बुल मार्केट नै सकियो’, त्यो सत्य होइन। बजार ११०० को विन्दुबाट ३२०० को विन्दुसम्म पुग्यो। ६००–७०० अंक घटेमा पनि त्यो करक्सन नै हो। अहिलेसम्म बजार ४ हप्ताभन्दा बढी घटेको छैन। यो करेक्सन कति समय हुन्छ ? त्यो भने हेर्नैपर्ने हुन्छ।

इलिअट वेभका आधारमा बजारलाई कसरी विश्लेषण गर्नुहुन्छ ? 

– इलिअट वेभका आधारमा भन्दा डिसेम्बर २०१९ मा ११०० को विन्दुबाट बढ्न सुरु भएको बजार प्राइमरी डिग्रीको ३ वेभ चलेको हो। पहिलो वेभ १६६८ को विन्दुमा बनायो। यदि बजार २–३ महिना करेक्सन आउँछ भने इन्टरमिडियट डिग्रीको (३) भित्रको माइनरको वेभ १ हो। यदि बजार २८०० को विन्दुभन्दा माथिबाटै माथि फर्किन्छ भने त्यो इन्टरमिडियट डिग्रीको वेभ (३) हुन्छ र बजार लगभग ४००० को विन्दुसम्म पुग्न सक्छ। यदि अहिले नै बजार २५०० को विन्दुमा झरेर फर्कियो भने ६००० को विन्दुसम्म पुग्न सक्छ। 

बजार घट्नुको दोष धेरैले नेपाल राष्ट्र बैंकलाई दिएका छन्। यर्थाथमा बजार घट्नको कारण के हो ?

– बजारमा करेक्सन आवश्यक पनि थियो। करेक्सन नआई बढ्दा जोखिम बढेको थियो। राष्ट्र बैंकको निर्देशन बहानामात्रै बन्यो। यथार्थ कुरा यही हो। 

सेक्टरवाइज भन्नुपर्दा अब बजारमा कुन–कुन सेक्टरले लिड गर्ला ?

यसमा भने दुई चिज छ। यसमा हाई बिटाले काम गर्छ। यो भनेको हाइड्रो, विकास बैंक तथा फाइनान्स नै बढ्छ भन्ने हो। यदि बजारले नयाँ उचाइ बनाउने हो भने सबै सेक्टर चल्नेछन्। एक–डेढ वर्षका लागि लगानी गरेर छोड्न कम जोखिम भएका सेक्टरहरु बैंकिङ र इन्स्योरेन्स नै हुन्।