– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपालको सेयर बजारले आफ्नो २९ वर्षे इतिहासमा हालसम्म ४ पटक बुल र ४ पटक बियरिस यात्रा तय गरेको छ। 

बजारले पहिलो उचाइ सन् २००० को नोभेम्बरमा ५३३ को विन्दुमा बनाएको थियो। दोस्रो उचाइ भने बजारले सन् २००८ को अगस्टमा ११७५ को विन्दुमा बनाएको थियो। बजार तेस्रोपटक सन् २०१६ को अगस्टमा १८८१ को उच्च विन्दु चुमेको थियो। चौथोपटक भने बजार सन् २०२१ को अगस्टमै लगभग ३२०० को उच्च विन्दु पुगेको थियो। जुन बजारले चुमेको हालसम्मकै उच्च विन्दु हो। 

पछिल्लोपटक बजारले दुईपटक उचाइ विन्दु चुम्दा विष्णु पौडेल अर्थमन्त्री थिए। उदारवादी अर्थमन्त्रीका रुपमा चिनिने पौडेल पुनः तेस्रोपटक अर्थमन्त्री बनेसँगै ३२०० को विन्दुबाट खसेर १८०६ को न्यून विन्दुसम्म झरेको बजारमा पुनः लगभग ४०० अंकको बढोत्तरी भइसकेको छ। अर्थमन्त्रीका रुपमा पौडेल आएपछि बजारले अब नयाँ उचाइ चुम्ने धेरै लगानीकर्ताको विश्वास छ। 

पौडेल र सेयर बजारको सम्बन्ध कस्तो ?

पौडेलसँग विगतमा आधा दर्जनभन्दा बढी मन्त्रालय सम्हालेको अनुभव छ। त्यसमा पनि अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो। 

अर्थमन्त्रीका रुपमा उनको पहिलो कार्यकाल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सन् २०१५ को नोभेम्बरदेखि अगस्ट २०१६ सम्म थियो। करिब १० महिनाको उनको कार्यकालमा सेयर बजार लगभग १ हजार अंक बढेर बजार १८८१ को विन्दु चुमेको थियो। (हेर्नुहोस् तस्बिरमा) 

अर्थमन्त्रीमा पौडेलको दोस्रो कार्यकाल सन् २०२० को अक्टोबरदेखि सन् २०२१ को जुलाईसम्म १० महिनाको थियो। त्यो समयमा पनि उनको कार्यकल सुरु हुँदा ११०० को विन्दुमा रहेको बजार २८०० को विन्दुसम्म पुगेको थियो। उनी सत्ताबाट जुलाई महिनामा बाहिरिएका थिए तर बजारले अगस्टमा लगभग ३२०० को उच्च विच्दु चुमेको थियो। 

बजार लगभग १८०० को आसपास रहेको बेला पौडेल तेस्रोपटक अर्थमन्त्रीमा नियुक्त भए। उनी अर्थमन्त्री भएको १८ दिनमात्रै भएको छ। तर, यो अवधिमा बजारले ४०० अंकको फड्को मारिसकेको छ। 

ब्रोकर हाउसमा भेटिएका एक अनुभवी लगानीकर्ताले भन्छन्, ‘व्यापारीहरुले प्रायः उदार र अरुले भनेको सुन्ने र मान्ने खालका अर्थमन्त्री खोज्छन्। कुनै बेला अर्थमन्त्रीका रुपमा रहेका भरत मोहन अधिकारीलाई पनि यस्तै उदारवादी भनेर चिनिन्थ्यो। भलै उनको पालामा सेयर बजारमा भने कुनै उछाल आएन।’

सेयर बजार बढ्न नीतिगत सुधार र ब्याजदरले नै मुख्य भूमिका निर्वाह गर्ने ती लगानीकर्ता बताउँछन्। ‘अब ब्याजदर घटे बजारले विस्तारै उकालो नै यात्रा लिन्छ’, ती लगानीकर्ताले भने।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल सेयर बजारमा लगानीकर्ताको सेन्टिमेन्टले मुख्य भूमिका निर्वाह गर्ने बताउँछिन्। ‘यसअघि पनि पौडेल अर्थमन्त्री हुँदा बजारले दुईपटक अल टाइम हाई हिट गरेको थियो’, उनले भनिन्, ‘अहिले प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ। गभर्नर र अर्थमन्त्रीको पनि ट्युनिङ पनि मिलेको छ। बजारले अहिले अर्थमन्त्रीका रुपमा स्वागतमात्रै गरेको हो। लगानीकर्ताको मनोबल बढेको छ। सेन्टिमेन्ट पनि बलियो भएको छ।’

बजार जानकार सरोज भट्टराई लगानीकर्तामा इतिहास दोहोरिन्छ भन्ने सोचाइ रहेको बताउँछन्। ‘पहिले पनि दुईपटक पौडेल अर्थमन्त्री हुँदा बजारले दुईपटक नै उच्च विन्दु चुमेको थियो, बजारलाई अहिले मनोविज्ञानले पनि काम गरेको छ’, भट्टराई भन्छन्, ‘लामो समय बिरामी परेको बजारलाई पौडेल आउनु सिटामोल दिएजस्तै भएको छ। पौडेल नआउँदा पनि गभर्नरसँग ट्युनिङ मिल्ने अर्का कोही व्यक्ति अर्थमन्त्री भएर आएको अवस्थामा पनि बजार सकारात्मक हुन सक्थ्यो।’

पौडेल अर्थमन्त्री बनेलगत्तै राष्ट्र बैंक पनि केही लचक भएको भट्टराई बताउँछन्। ‘राष्ट्र बैंकले बजारमा एकैपटक ५० अर्ब पैसा रिपोमार्फत पठायो, चालुपुँजी कर्जामा पनि लचकता अपनायो’, उनले भने, ‘यी सबै विषयवस्तुले अब बजारमा सकारात्मक माहोल बनेको छ।’

यद्यपि, बढ्दो बजारमा कमसल कम्पनीदेखि भने सचेत हुनुपर्ने लगानीकर्तालाई भट्टराईको सुझाव छ।