काठमाण्डौ । बुधबार नेप्से परिसूचक अलटाइम हाईको नजिकै पुगेको छ । बजारले भोलि अल टाइम हाईको विन्दू ब्रेक गर्ने तयारी गरिरहँदा अब नेप्से परिसूचक कहाँ पुग्छ भन्ने लगानीकर्तामा कौतुहुलता देखिएको छ । 

बुधबारकै कारोबारमा पनि लगानीकर्ताहरुले तीव्र रुपमा सेयरहरु खरीद गरिरहेका छन् । बजारमा सक्रिय रहेका भोका लगानीकर्ताहरुले बढाएको अधिक खरीद चापले नेप्से चाँडै रोकिने छाँट देखिन्न । लगानीकर्ताको उच्च मनोबलका कारण समेत नेप्से परिसूचकले नयाँ इतिहास रच्ने पक्कापक्की जस्तै छ । 

तर, बजारलाई नजिकबाट नियालिरहेका विश्लेषकहरुले बजारको निकट भविष्य चाहिँ कस्तो देखेका छन् त ? पछिल्लो समय बजारमा धेरै लगानीकर्ताले पछ्याउने गरेको प्राविधिक विश्लेषणको कोणबाट बजारको दिशा कता देखिन्छ ?

पछिल्लो समय सेयर बजारका चर्चित प्राविधिक विश्लेषक बिष्णु बस्यालले नेप्से परिसूचकले बुधबार १८५० को विन्दूलाई तोडेर अगाडि बढेकाले अझै बढ्ने दाबी गर्छन् । उनको प्रक्षेपणअनुसार यो बजारले डिसेम्बरको पहिलो साताको अन्तिम कारोबार दिन आसपास १९५० को विन्दू चुम्ने देखिन्छ । 

प्राविधिक विश्लेषक बस्यालले यसअघि अब बैंकिङ, हाइड्रो, विकास बैंक, वित्त र उत्पादन समूहमा उछाल आउनसक्ने दाबी गरेका थिए । उनको दाबी अनुसार नै अधिकांश समूहमा उछाल आएको छ । उनले यसअघि सार्वजनिक विश्लेषणमा बैंक सेक्टरमा लगानी गरेका लगानीकर्ताहरुलाई उक्त लगानी अन्य सेक्टरमा सिफ्ट नगर्न सुझाएका थिए, यो समूह आजबाट उछालको गतिमा दौडिन थालिसकेको छ ।