काठमाण्डौ । सन् २०१६ जुलाई २७ मा नेप्से परिसूचकले १८८१.४५ को अलटाइम हाईको विन्दू चुम्दा अर्थमन्त्री विष्णु पौडेल थिए । ५२ महिनापछि आज(बिहीबार) नेप्सेले अलटाइम हाईलाई ब्रेक गरी नयाँ कीर्तिमान बनाएको छ । नेप्से परिसूचक १९०० माथि पुगेर बजार बन्द हुँदा १८९३ मा सीमित छ भने कारोबार रकममा पनि नयाँ कीर्तिमान कायम भएको छ । एकैदिन ७ अर्ब ६१ करोडको कारोबार भएको छ । बजारले नयाँ नयाँ कीर्तिमानहरु बनाइरहेको यही बेला अर्थमन्त्रीको रुपमा पुनः पौडेल नै आएका छन् । 

अहिले बजारमा कतिपय लगानीकर्ताहरुले विष्णु पौडेल अर्थमन्त्रीको रुपमा दोहोरिएका कारण पनि नेप्सेले नयाँ कीर्तिमान बनाइरहेको दाबी गरेका छन् । के विष्णु पौडेल अर्थमन्त्रीको रुपमा आएकै कारण लगानीकर्ताको मनोबलमा यति ठूलो सुधार आएको हो त ? कि यो संयोग मात्र हो ? 

बजारका जानकार दीलिप मुंनकर्मी अर्थमन्त्रीको रुपमा विष्णु पौडेल दोहोरिएको बेलामा नेप्सेले पुनः अलटाइम हाईको रेकर्ड राख्नु संयोग मात्र ठान्छन् । 'पहिला पनि उहाँ अर्थमन्त्री बन्दा बजार बुलको पिकमा थियो । डा. खतिवडा आउँदा बियरको साइकल सुरु भएको थियो ।' उनले भने-' सस्तोमा पैसा पाइने, २ खर्ब तरलता भएको सहज अवस्थामा फेरि पौडेल अर्थमन्त्री बन्नु भएको छ । बजारले फेरि नयाँ कीर्तिमान बनायो, यो सबै संयोग मात्र हो ।' 

मुंनकर्मीले कोभिडका कारण लगानीका अन्य क्षेत्र सुस्ताएका बेला अनलाइन कारोबार प्रणालीको विकासले घरमै बसेर सेयर किनबेच गर्न सहज भएकोले पनि बजारमा माहौल सिर्जना भएको बताउँछन् । 'तर म बजारप्रति अझै पनि कन्फिडेन्ट भइसकेको छैन । नेप्सेको मेजर सेक्टरमा ठूलो उछाल आइसकेको छैन, २ दिनको उछाल कति सस्टेन हुन्छ भन्ने कुरा आगामी साताभित्र थाहा होला ।' उनले भने-'तर, अरु सेक्टरले घचेट्दै गर्दा कारोबार रकमले सहयोग गरेको छ । अब बैंकिङ समूहले साच्चिकै बजारलाई लीड गर्न थाल्यो भने दिगो बुल रन सुरु हुन्छ ।' 

उनले पनि अहिले बजारका लगानीकर्ताहरुको मनोविज्ञान अति नै बलियो र सकारात्मक रहेको बताए । तर, मुंनकर्मीलाई कतिपय कम्पनीको सेयरमूल्य कर्नरिङ गरेर बढाइएको भन्ने लागेको छ । 'लगानीकर्ताहरु यस्ता स्क्रीप्टबाट जोगिनुपर्छ । आफैं अध्ययन गरेर र कम्पनीको वित्तीय अवस्था हेरेर मात्र लगानीको निर्णय लिनुपर्छ।'-उनले थपे । 

क्रमशः विश्लेषक बस्याल, बजार जानकार मुंनकर्मी र लगानीकर्ताका नेता ढकाल । 

...................................................

युवा लगानीकर्ता तथा सेयर लगानीकर्ता दवाब समूहका नेता हरि ढकाल अर्थमन्त्री पौडेलप्रति बजारका खेलाडीहरुको विश्वासका कारण पनि बजारमा नयाँ कीर्तिमानहरु बनेका दाबी गर्छन् । 'पौडेल अर्थमन्त्री हुँदाकै बेला पहिला र अहिले नै बजारले कीर्तिमान कायम गर्नु पछाडिको एउटा कारण उहाँसँगको लगानीकर्ताहरुको कन्फिडेन्ट पनि हो ।' उनले बिजशालासँग भने-'तर, बजार बढ्ने सम्पूर्ण कारण नै उहाँको पुनरागमन मात्र चाहिँ होइन ।' 

उनको भनाईमा अहिले कोभिडले ग्रस्त अर्थतन्त्रलाई त्राण दिन राज्यलाई बढीभन्दा बढी आम्दानीका स्रोतहरु चाहिएको छ । बजारमा दैनिकजसो अरबौंको कारोबार हुँदा क्यापिटल गेन ट्याक्स पनि राम्रो आउन थालेपछि अर्थमन्त्री र सिंगो अर्थमन्त्रालयले बजार बुमका लागि सहजीकरण गरिरहेका उनको बुझाई छ । 'राज्य स्वयम्ले प्लेयरहरुलाई सहज बनाइदिएको छ ।' उनले थपे-'दैनिक १८ २० लाख रुपैयाँ क्यापिटल गेन ट्याक्सको रुपमा सेयर बजारबाट राज्यले पाउने भएपछि उसले सबै कुरा सहज गरिदिएको मेरो बुझाई हो, यसले समेत बजार बढाउन निकै ठूलो मद्धत गरेको छ ।' 

उनको बुझाईमा अर्थमन्त्रीले ब्रोकर कमिसन घटाउने लगायत बजारका केही समस्याहरुमा अझै सहजीकरण गरिदिए बजारले अझै माथिसम्मको यात्रा तय गर्न कुनै गाह्रो छैन । 

ढकालको विश्लेषणमा अहिले बजारका लगानीकर्ता रातो रंग हेर्नै चाहदैनन् । 'रातो भएका सेक्टर वा कम्पनी उठाइहाल्छन्, यो भनेको लगानीकर्तामा अहिले उच्च मनोबल छ भन्ने हो ।' उनले थपे-'हिजो र आजको कारोबारबाट बैंकिङ सेक्टर पनि राम्रै चलेको देखियो । यसको अर्थ अब बुल मार्केटको निकै दरिलो जग बस्यो, अब बजार अझै माथि जान्छ ।' 

ढकालको विश्लेषणमा आगामी दिनमा समूहगत करेक्सन मात्र आउनेछ, नेप्से परिसूचकमै ठूलो करेक्सन देखिने छैन । 'अहिलेको बजारलाई कारोबारको आकार, घट्दो बैंक ब्याजदर लगायतका कुराले पनि राम्रो सपोर्ट गरेको छ । समग्रमा बजारका लागि सहज परिस्थिति निर्माण भएको छ ।'-उनले थपे ।

सेयर बजार विश्लेषक तथा चार्टर्ड फाइनान्सियल एनालिस्ट हेमन्त बस्याल बजारमा बुल रन सुरु भएकोमा शंका नगर्न आग्रह गर्दै भन्छन्-'माइनर करेक्सन आउला, तर बजार अझै अगाडि बढ्छ ।'

उनको विश्लेषणमा बैंकिङ सेक्टरमा पुसपछि केही उतारचढाव हुनसक्छ । 'मौद्रिक नीतिको रिभ्यूले पनि बैंकिङ सेक्टर कता जान्छ भन्ने कुरा निर्धारण गर्ला ।'-उनले थपे । 

अर्का एक बजार विश्लेषकले भने अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आएका कारण पनि बजारले नयाँ उचाई प्राप्त गरेको दाबी गरे । 'अघिल्लो अर्थमन्त्री टेक्नोक्र्याट हुनुहुन्थ्यो । लगानीकर्ताको आवाज प्राविधिक हिसाबले सुनिएको थियो होला, तर निजी क्षेत्रको पहुँच अर्थमन्त्रालयसम्म थिएन । विष्णु पौडेल आइसकेपछि दूरी कम भएको छ । बजार बढ्ने एउटा कारण यो पनि हो ।' नाम उल्लेख नगर्ने शर्तमा ती विश्लेषकले भने-'खतिवडा फोबिया हट्यो, त्यो हिसाबले बजार अलटाइम हाईमा आउन एउटा सपोर्ट गरेको छ । विगत ३ वर्षको अर्थतन्त्रमा आएको सुधारले पनि अहिले काम गरेको छ ।' 

'मुख्य रुपमा प्राइभेट सेक्टरसँग सहज संवाद गर्नसक्ने अर्थमन्त्री मुुलुकले पाएको छ । प्राइभेट सेक्टरले राज्यबाट पाउने केही पनि होइन, तर उसले सहज रुपमा कर तिरेर व्यवसाय गर्न पायो भने उत्साहित हुन्छ । यो मामलामा विष्णु पौडेल सहज हुनुहुन्छ, उहाँसम्म निजी क्षेत्रको सहज पहुँच छ ।' उनले थपे-'यसले समेत सेयर बजारमा उत्साह भर्ने र लगानीकर्ताको मनोबल उच्च बनाउने काम गरेको छ ।'