काठमाण्डौ । सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  भएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बुधबार आयोगको केन्द्रीय कार्यालयमा पूर्व उपकुलपति, बर्तमान उपकुलपति, रजिस्ट्रार र डेपुटी रजिस्ट्रारमाथि अनुसन्धान गरी कारबाही होस् भनी उजुरी दर्ता गरिएको हो ।

प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. वीपी दास, वर्तमान उपकुलपति डा. राजकुमार रौनियार, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, डेपुटी रजिष्ट्रारको मिलेमतोमा करोडौं अनियमितता भएको उजुरीमा दाबी गरिएको छ । 

धरानका अनिरुद्र शाह र हरि उप्रेतीले प्रतिष्ठानमा निर्माणाधीन एमसिएच भवन निर्माणका लागि परामर्शदाता छनौटदेखि नै अनियमितता भएको, परामर्शदाता छनौटमा पूर्वउपकुलपति, हालका उपकुलपति, रजिष्ट्रार र डेपुटी रजिष्ट्रारले सार्वजनिक खरिद नियमावली विपरीत काम गरेको भन्दै उजुरी दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीको दर्ता नं. २००४०/२०७४/१० रहेको छ भने उक्त उजुरीको बोधार्थ प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगमा समेत दिइएको छ ।

स्रोतका अनुसार प्रतिष्ठानमा विगतमा भएका विभिन्न भ्रष्टाचारका विषयमा अख्तियारमा दर्जनौं उजुरी दिए पनि कुनै अनुसन्धान नभएपछि यसपटक प्रधानमन्त्रीलाई समेत जानकारी दिइएको हो । प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको उक्त उजुरीको दर्ता नं. १३७९८/०७४/०२/१० रहेको छ ।

उजुरीमा रसुवा कन्ट्रक्सन र केज कन्सल्टेन्सी र प्रतिष्ठानका पदाधिकारीहरुको मिलेमतोमा केज कन्सल्टेन्सीलाई मिल्ने गरी क्राइटेरिया बनाएर बोलपत्र मार्फत केज कन्सल्टेन्सीलाई छनौट गरिएको दाबी गरिएको छ । प्रथम चरणमा केज कन्सल्टेन्सीले रु ७,६०,००,००० को लागत सहित ड्रइङ्ग डिजाइन दियो र स्वास्थ्य मन्त्रालयबाट सोही लागत स्वीकृत भयो । तत् पश्चात तत्कालिन उपकुलपति डा. वीपी दास, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवले रसुवा कन्स्ट्रक्सन र केज कन्सल्टेन्सीसँग मिलेर नेपाल अधिराज्यमा जुन सामग्री जुन जिल्लामा महँगो छ, त्यही जिल्लाको दररेट लिएर (नियम अनुसार सुनसरी जिल्लाको लिनुपर्ने) उक्त निर्माण कार्यको लागत बढाएर स्वास्थ्य मन्त्रालयसँँंग स्वीकृत नलिई नै ठेक्का लगाएको दाबी गरिएको छ । 

यो ठेक्कामा नेपाल सरकारलाई सिधै ५५ करोड बढी मूल्य तिर्न लगाइएको दाबी गरिएको छ । 

यसैगरी प्रतिष्ठानमा निर्माण हुन लागेको Oncology र Cardiology Centre मा समेत चलखेल भएको भन्दै उजुरी परेको छ । Oncology र Cardiology Centre भवन निर्माणका लागि परामर्शदाता छनौट प्रक्रियामा बर्तमान उपकुलपति डा. राजकुमार रौनियार, रजिष्ट्रार तुल बहादुर श्रेष्ठ, र डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवले पुनः केज कन्सल्टेन्सी र रसुवा कन्स्ट्रक्सन सँग सेटिंङ गरेका आरोप लागेको छ । यसमा कार्टेलिङ गर्ने नियतले सार्बजनिक खरिद अनुगमन कार्यालयको Standard Bidding Documentलाई मिचेर केज कन्सल्टेन्सीको प्राबिधिक मूूल्याङ्कनमा सबैभन्दा बढी अंक आउने गरी क्राइटेरिया बनाईएको दाबी गरिएको छ । 

राष्ट्रिय अन्तराष्ट्रिय मान्यता अनुसार जम्मा प्रोजेक्ट लागतको ०.५–१.५ र बढीमा २ प्रतिशत कन्सल्टेन्सी फि हुनुपर्नेमा यस ठेक्कामा केज कन्सल्टेन्सीलाई ३.५ प्रतिशत दिएर राज्यलाई ५ करोड आर्थिक व्ययभार बोकाउने कार्य भएको बताइएको छ । ‘यसमा ठेक्का पाउनेले ठेक्का दिलाउनेलाई बढी आउने ५ करोड कमिसन दिने तय भएको छ ।’ स्रोतको दाबी छ । 

यसै साता हुन गइरहेको रु २ अर्ब ५० करोडको सो निर्माण कार्यको बोलपत्र समेत कार्टेलिङ गरेर रसुवा कन्स्ट्रक्सनलाई दिने तय भइसकेको र सो बापत उपकुलपति डा. रौनियारले १० प्रतिशत, रजिष्ट्रार श्रेष्ठले ३ प्रतिशत र डेपुटी रजिष्ट्रार श्रीवास्तवले १ प्रतिशत कमिसन पाउने तय भएको उच्च स्रोतको दाबी छ । 

यसैगरी, प्रतिष्ठानको जग्गामा सञ्चालनमा आएको किड्जी मन्टेश्वरी र फार्मेसी सञ्चालनका विषयमा समेत चलखेल भएको भन्दै उजुरी गरिएको छ ।

विगतमा समेत प्रतिष्ठानका पदाधिकारीको गलत कामका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी र केन्द्रिय कार्यालयमा दर्जनौ उजुरी दर्ता गराइएको थियो । तर ती उजुरीको बिषयमा आयोगले फायल नखोल्दा प्रतिष्ठानका पदाधिकारीहरुमा भ्रष्टाचार गर्न उद्यत रहेकोले प्रतिष्ठान जोगाउन अख्तियार गुहारिएको बताईएको छ । प्रतिष्ठानका विषयमा अख्तियारमा दर्जनौं उजुरी भए पनि एउटै उजुरीको विषयमा अनुसन्धान नहुनु नै शंकास्पद भएको उजुरीकर्ताको भनाइ छ । ‘यसअघि पनि धेरै उजुरी परेका छन्, अहिलेसम्म कुनै उजुरीमाथि छानविन नहुनुको अर्थ कतै अख्तियार नै पदाधिकारीसँग मिलेको त छैन ? यसैले यसपटक प्रधानमन्त्री कार्यालयमा समेत उजुरी दर्ता गरेको छु ।’ नाम उल्लेख नगर्ने शर्तमा उजुरीकर्तामध्येका एकले टेलिफोन सम्पर्कमा भने ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएको अवस्थामा आउने नयाँ प्रधानमन्त्रीले यस विषयमा निर्णय गर्ने बताईएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक पदाधिकारीले प्रतिष्ठानका विषयमा विगतमा समेत धेरै उजुरी परेको र छानविनको क्रममा रहेको बताए । उनले अहिले परेको उजुरी नयाँ हो कि पुरानै विषय हो अध्ययन गरेर छानविन गर्ने बताए ।

यता, वीपी प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा कुनै सम्पर्क हुन सकेन ।

पछिल्लो पटक अख्तियारमा परेको उजुरी यस्तो छ :