काठमाण्डौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाण्डौको बीर अस्पतालमा नवनिर्मित भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन्। 

सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका हुन्। काठमाण्डौ उपत्यकामा कोरोनाका बिरामीहरु बढिरहेकाले अस्पतालमा शय्या अभाव भएको गुनासो आएपछि सीसीएमसीले बिभिन्न विकल्पको खोजी गरिरहेको छ। 

उपप्रधानमन्त्री पोखरेलले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोनाका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिएका छन् । उनले नागरिकको जीवनरक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशनसमेत दिएका छन्।