काठमाण्डौ । चीनको वुहान सहरको ठूलो क्षेत्रमा चारजनामा नयाँ कोरोना संक्रमित भेटिएपछि फेरि लकडाउन लगाइएको छ। यसअघि पनि विश्वमै पहिलोपटक कोरोना संक्रमणको मामिला वुहानमै देखिएको थियो। 

पछिल्लोपटक वुहानको जिआङ्सिया क्षेत्रमा चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो। ती संक्रमितमा कुनै पनि लक्षण देखिएको थिएन।

त्यसपछि उक्त क्षेत्रका मानिसलाई ३ दिनसम्म घरभित्रै बस्न निर्देशन दिइएको छ। जियाङ्सियामा करिब १० लाख मानिस बस्छन्।

चीनले कोभिडसँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउनजस्ता कदम चालिएका छन्।

यसो गर्दा चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या धेरै देशको तुलनामा उल्लेखनीय रुपमा घटेको छ।

‘जिरो कोभिड’ रणनीतिले बढ्दो विरोधको सामना गर्नुपरेको छ। किनकि यो रणनीतिले ठूलो संख्यामा मानिस र व्यवसायले प्रतिबन्धको सामना गरिरहेका छन्।

वुहान सहरमा नियमित रुपमा कोरोना परीक्षण भइरहेको छ। 

दुई दिनअघि दुईजनामा कोरोना पुष्टि भएको थियो। त्यसपछि ती संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पनि अनुसन्धान गरी थप दुईजनामा पुष्ट भएको हो। त्यसको केही समयपछि लकडाउनको आदेश जारी भयो।

सन् २०२० को सुरुमा वुहानको चर्चा विश्वभर भएको थियो। किनकि वैज्ञानिकहरुले त्यहाँ नयाँ कोरोनाभाइरस पत्ता लगाएपछि वुहानमा कडा लकडाउन लगाइएको थियो। –एजेन्सी