काठमाण्डौ । माघ १ गतेदेखि वैदेशिक रोजगार म्यादी जीवन बिमा  बिमा कम्पनीहरुले पुलमार्फत संचालन गर्नुपर्ने भएको छ । 

बिमा समितिले  वैदेशिक रोजगारी म्यादी जीवन बिमा व्यवसायलाई पारदर्शी, मर्यादित, व्यवस्थित र बढीभन्दा बढी ग्राहक सेवा उन्मुख गर्ने भन्दै पुलमार्फत संचालन गर्न निर्देशन दिंदै जीवन बिमा कम्पनीहरुको बजार हिस्साको अनुपात समेत प्रस्ताव गरेको हो ।

सोमबार साँझ बिमा समितिले वैदेशिक रोजगारी म्यादी जीवन बिमा व्यवसाय गर्ने बिमकहरुले माघ १ गतेदेखि पुलमार्फत संचालन गर्नुपर्ने सर्कुलर जारी गरेको हो । 

त्यसका लागि समितिले ६ बुँदे शर्त समेत तोकिदिएको छ ।

भोलिदेखि वैदेशिक रोजगारी म्यादी जीवन बिमा बिमकहरुको तोकिएको बजार हिस्सा संलग्न बमोजिम हुनेछ ।

तत्काल विधिवत रुपमा त्यस्तो पुल गठन भइसकेको छैन । यहीकारण बिमा समितिले बिमकहरुले जारी गरेको सबै बिमालेखहरुमा बिमकहरुको बजार हिस्सा अनुसारकै हिस्सा कायम हुने र पुल गठन नभएसम्म व्यवसाय संचालनलाई यथावत दिनुपर्ने भनेको छ । 

समितिले हाल  तय गरेको बिमकहरुको हिस्साको अनुपात चालु आर्थिक वर्षको असार मसान्तसम्म लागू गर्ने र दोश्रो वर्ष(२०७६ साउन १ गते(देखि समितिको रोहबरमा हिस्सा परिवर्तन गर्ने तथा तेश्रो वर्षको समाप्तिपछि चौथो वर्षको सुरुदेखि सबैको हिस्सा बराबर पुर्याइने प्रष्ट पारेको छ । 

बिमा समितिले माघ १५ गतेभित्र सबै जीवन बिमा कम्पनीहरुलाई सहमति गरी पुल संचालनको विस्तृत कार्यविधि बनाई समितिमा पेश गर्न समेत निर्देशन दिएको छ ।

पुल अन्तर्गत बिमाशुल्क खर्च तथा दाबीको हिस्सा सोही अनुपातमा बाँडफाँड हुने समेत समितिले प्रष्ट पारेको छ ।

कसको हिस्सा कति ?
वैदेशिक रोजगार म्यादी जीवन बिमा व्यवसाय पुलमार्फत संचालन गर्न कम्पनीको आकार अनुसार बजार हिस्साको अनुपात समेत बिमा समितिले प्रस्ताव रेको छ । जसअनुसार १८ वटा जीवन बिमा कम्पनीमध्ये सबैभन्दा धेरै हिस्सा नेशनल लाइफ इन्स्योरेन्सलाई प्रस्ताव गरिएको छ । यो कम्पनीका लागि १९ प्रतिशत हिस्सा(मार्केट सेयर) प्रस्ताव गरिएको हो । 

यस्तै, प्राइम लाइफलाई १५ प्रतिशत, सूर्या लाइफलाई १२ र नेपाल लाइफ इन्स्योरेन्सलाई ११ प्रतिशत मार्केट सेयर प्रस्ताव गरिएको छ ।

नौ कम्पनीलाई १ प्रतिशतको दरले मार्केट सेयर प्रस्ताव गरिएको छ ।

बिमा समितिको सर्कुलर र कम्पनीहरुको नाममा प्रस्ताव गरिएको सेयर हिस्सा यसप्रकार छ: